दमक बजारमा ग्याँस आपूर्ति बढाउन संघीय सरकारसँग माग

Author Nishkarsha News
२०८३ श्रावण २६, मंगलवार २०:४७

दमक/  खाना पकाउने एलपी ग्याँसको अभावलाई सहज बनाउने उद्देश्यले झापाको दमक नगरपालिकाले आज सरोकारवालाहरुबीच छलफल गर्दै ग्याँस आपूर्तिको मात्रा बढाउन संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

नगर प्रमुख राम थापाको अध्यक्षतामा भएको छलफलमा ग्यास वितरणलाई व्यवस्थित र सहज बनाउन स्थानीय सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका विषयमा व्यापक छलफल गरिएको हो ।
छलफलमा नगरभित्रका ग्यास व्यवसायीहरूले कम्पनीबाट प्राप्त हुने ग्याँस उपभोक्तासम्म सहज रूपमा वितरण गर्ने, कालोबजारी नगर्ने तथा कालोबजारी गरेको पाइए कानुनबमोजिम कडा कारबाही गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । छलफलमा नगरवासीलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्ने निर्णय पनि गरिएको छ ।


त्यस्तै, ग्यास उत्पादक कम्पनीहरूले दमक क्षेत्रका व्यवसायीलाई यसअघि वितरण गर्दै आएको परिमाणमा ग्याँस उपलब्ध गराउनुपर्ने तथा कम्पनीले अनाधिकृत व्यक्तिलाई ग्याँस वितरण गरेको पाइए सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । बजारमा ग्याँस आपूर्ति सहज बनाउन संघीय सरकारसमक्ष आवश्यक पहल गर्न अनुरोध गर्ने सहमति पनि भएको छ ।
नगर प्रमुख थापाले नागरिकलाई खाना पकाउने ग्यास उपलब्ध गराउने विषय स्थानीय सरकारको प्रत्यक्ष अधिकार क्षेत्रभित्र नपरे पनि ग्याँस अभावको गुनासो भने स्थानीय तहले नै सामना गर्नुपरेको बताए । स्थानीय स्तरको समन्वय र सहकार्यबाट केही हदसम्म समस्या समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल आयोजना गरिएको उनको भनाइ थियो ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील निरौलाले नगरपालिकाले बजारको नियमित अनुगमन गरिरहेको जानकारी दिए । अनुगमनका क्रममा हालसम्म कुनै व्यवसायीले ग्याँस भण्डारण गरेको नपाइएको बताए ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले दमकमा हालसम्म कालोबजारी गरेको वा तोकिएकोभन्दा बढी मूल्य लिएको भन्ने औपचारिक गुनासो नआएको जानकारी दिए । तर, बजारमा ग्यास अभावका कारण उपभोक्ता भने समस्यामा परेको उनको भनाइ थियो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले ग्याँस अभावका लागि व्यवसायी मात्र जिम्मेवार नरहेको तर्क गरे । कम्पनीबाट प्राप्त हुने परिमाणअनुसार ग्याँस वितरण गरिए पनि आपूर्तिमा कमी हुँदा बजारमा अभाव देखिएको उनको भनाई थियो ।

नेपाल ग्यास व्यवसायी संघ झापाका उपाध्यक्ष टंक ढकालले उपभोक्ताको व्यवहारले पनि समस्या बढाएको बताए । उनका अनुसार सहज अवस्थामा घरमा ग्यास ट्यांकी खाली राख्ने र अभाव देखिएपछि एकैपटक धेरै खाली ट्यांकी संकलन गरेर ग्यास खोज्ने प्रवृत्तिले कृत्रिम अभावको अवस्था सिर्जना हुने गरेको छ । यस विषयमा उपभोक्तालाई सचेत गराउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्