दमक / कमल गाउँपालिका झापा मापदण्ड पूरा भएपछि छुट्टै कमल नगरपालिका बन्न सक्ने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले स्पष्ट पारेका छन्।
अध्यक्ष राईले सामाजिक सञ्जालमार्फत गाउँपालिका नगरपालिका बन्ने विषयमा विभिन्न किसिमका निराधार तथा काल्पनिक हल्ला फैलिएको भन्दै त्यस्ता कुराको पछि नलाग्न आग्रह गरेका छन्।
उनले आवश्यक कानुनी तथा निर्धारित मापदण्ड पूरा नभएसम्म कमल गाउँपालिका गाउँपालिकाकै रूपमा रहने स्पष्ट पारेका छन्।
मापदण्ड पूरा भएपछि भने छुट्टै कमल नगरपालिका बन्न सक्ने उनको भनाइ छ। अध्यक्ष राईले स्थानीय तहको संरचनासम्बन्धी विषयमा आधिकारिक जानकारीबिना फैलाइएका हल्लाले भ्रम सिर्जना गर्न सक्ने भन्दै सत्यतथ्यमा आधारित सूचना मात्र विश्वास गर्न आग्रह गरेका छन्।
तत्कालिन लखनपुर र तोपगाछी गाविसको समायोजनपछि स्थानीय तह पुनसंरचनासँगै बनेको कमल गाउँपालिकालाई टुक्र्याएर अलग अलग पालिकामा समायोजन हुन सक्ने भन्दै यसअघि केही दिन सम्म सामाजिक सञ्जाल तातिएको थियो । अध्यक्ष राईले यस बिषयमा प्रष्ट पार्दै भने– स्थानीय तह पुनसंरचना सम्बन्धीको मापदण्ड र कानुनी व्यवस्थाको समेत ख्याल गर्नुपर्ने हुन्छ ।
स्थानीय तह (पालिका) पुन संरचना गरिँदा सम्बन्धित पालिकाको गाउँ सभाको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने र वडा पुनसंरचना गरिँदा कार्यपालिकाको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था रहेको समेत अध्यक्ष राईले बताए ।
कमलको बिषयमा मात्रै नभएर देशैभर लागू हुने गरी केन्द्रिय सरकारले स्थानीय तह पुनसंरचना सम्बन्धीको कानुनी व्यवस्था संशोधन नगरे सम्म मौजुदा कानुनी व्यवस्थाले मात्रै यो सम्भव छैन र कमलबासी नागरिकहरुको आवाज (माग) विपरित पालिका समायोजन वा हेरफेरका बिषयमा कुनै निर्णय नलिइने पनि अध्यक्ष राईले प्रष्ट पारे ।