इन्द्रमायालाई नेपाली कम्युनिष्ट पार्टीले बनाइदियो घर

Author Nishkarsha News
२०८३ श्रावण २५, सोमबार २०:४९

भद्रपुर/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाको घर निर्माण गरेको हो । आज आयोजित घर हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गरे ।

आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताए । कम्युनिस्ट सरकार भएका बेला विपन्न तथा सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिए पनि राजनीतिक अस्थिरताका कारण त्यसलाई पूर्ण रूपमा अघि बढाउन नसकिएको उनले उल्लेख गरे  ।

झापामा पार्टीले निर्माण गरेको घरले राज्यलाई घचघच्याउँदै विपन्न नागरिकको आवासको अधिकारप्रति ध्यानाकर्षण गराउने काम गरेको उनको भनाइ छ ।

कार्यक्रमका विशेष अतिथि नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख अशेष घिमिरेले घर निर्माण कार्यले सांकेतिक रूपमा भए पनि झापाबाट समाजवादी अभियानलाई थप विस्तार गर्ने काम गरेको बताए । मानिसले बाँच्न पाउने अधिकारसँगै सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने पक्षमा पार्टी सधैँ अग्रपंक्तिमा रहेको सन्देश यस अभियानले दिएको उनले बताए ।

कार्यक्रममा घर निर्माणमा सहयोग गर्ने विभिन्न दातालाई सम्मानसमेत गरिएको छ । विभिन्न दाताबाट संकलित ३ लाख ८१ हजार रुपैयाँको लागतमा भान्सासहित तीनकोठे घर निर्माण गरिएको नेकपाका केन्द्रीय सदस्य तथा घर निर्माण संयोजक बासु दुलालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्