फ्रान्स/ पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । ९ अगस्ट २०२६ मा आयोजित भव्य समारोहका बीच संस्थाको विधानबमोजिम सम्पन्न निर्वाचन प्रक्रियामार्फत भण्डारीको नेतृत्वमा सशक्त र जुझारु टिम चयन भएको हो ।
निवर्तमान सभापति सुधीर रानाको सभापतित्व एवं संस्थापक सभापति निर्मल अर्यालको दीप प्रज्वलनबाट सुरु भएको उद्घाटन सत्रमा लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद तथा संस्थापक संरक्षक स्व. किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो ।
केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि र केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी भएको अधिवेशन निर्वाचन संयोजक सुवर्णविक्रम हमालको कुशल संयोजनमा पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र विधानसम्मत ढङ्गले सम्पन्न भएको थियो ।
अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्वमहासचिव एवं जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, वरिष्ठ पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायतका अग्रणी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेतृत्व हस्तान्तरण गरेका निवर्तमान सभापति सुधीर रानाले आफ्ना अनुभव साझा गर्दै नयाँ समितिलाई पूर्ण सहयोगको प्रतिबद्धता जनाए ।
नवनिर्वाचित सभापति भण्डारीले संस्थाको गरिमालाई अझ उच्च बनाउँदै फ्रान्सस्थित नेपाली समुदायको हकहित, एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि आफ्नो टिम निष्ठापूर्वक क्रियाशील रहने प्रण गरे ।
नयाँ कार्यसमितिको वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ, उपसभापतिद्वयमा विकास के.सी. र सुजन राज भट्ट तथा महामन्त्रीमा सुशिल भण्डारी चयन भएका छन् । त्यसैगरी, सहमहामन्त्रीको जिम्मेवारी विवेक धमला र कोषाध्यक्षको दायित्व दिपेन्द्र दाहालले सम्हालेका छन् भने कार्यसमिति सदस्यहरूमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा निर्वाचित भएका महामन्त्री शुशिल भण्डारीले जानकारी दिए ।