साईप्रसमा अध्ययनका लागि अवसरबारे झापाका शैक्षिक परामर्श व्यवसायीहरुलाई अभिमुखीकरण

Author Nishkarsha News
२०८३ श्रावण २१, बिहीबार २२:२६

दमक/  युरोपियन मुलुक साइप्रस नेपाली बिद्यार्थीहरुको रोजाइमा परेको बताउँदै साइप्रस अध्ययनका लागि जाने प्रकृया र यसमा आवश्यक सहजीकरणका बिषयमा झापाका शैक्षिक परामर्श व्यवसायीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम दमकमा सम्पन्न भएको छ ।
शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) झापाको आयोजनामा साइप्रसस्थित नियोपोलिस युनिभर्सिटी पाफोसको सहजीकरणमा बिहीबार दमकमा त्यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा जनाइए अनुसार नेपालले निकट भविष्यमा आवश्यक मापदण्डहरु पुरा गरेर १८५ जना बिद्यार्थी साइप्रस अध्ययनका लागि पठाउन सक्ने कानुनी बाटो खुलिसकेको जानकारी गराइएको थियो ।
इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सञ्चालन भएको सो अभिमुखीकरण कार्यक्रममा सो युनिभर्सिटीका नेपालस्थित कन्ट्री मेनेजर सुमन अधिकारीले साइप्रसमा अध्ययन गर्न चाहने नेपाली बिद्यार्थीहरुको शैक्षिक भविष्य, अपनाउनुपर्ने कानुनी प्रकृयाहरु, युनिभर्सिटीले प्रदान गर्ने छात्रवृत्ति लगायतका सुविधाहरु, त्यहाँ अध्ययनसँगै हुन सक्ने रोजगारीको सम्भावनाहरु, त्यहाँको प्रचलित कानुन आदिका बारेमा संक्षेपमा जानकारीमुलक प्रशिक्षण दिएका थिए । शैक्षिक परामर्श व्यवसायी संघ संघर्ष समिति झापाका संयोजक तथा दमक क्षेत्रका परामर्श व्यवसायी समुहका संयोजक चिरन न्यौपानेसहित शैक्षिक परामर्श व्यवसायीका नेतृत्वकर्ता तथा सो युनिभर्सिटीका प्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो ।


कार्यक्रममा सहभागी दमक र आसपास क्षेत्रका शैक्षिक परामर्श व्यवसायीहरुको उल्लेखीय सहभागिता थियो । कार्यक्रममा इक्यान झापाका तालिम संयोजक नवराज खरेलले कार्यक्रमको औचित्यमाथी प्रष्टयाउँदै स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन इक्यान झापाका सचिव विशाल सिटौलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्