जापानमा नेपाली दम्पत्तीले नेपालीलाई गरे करोडौं ठगी

Author Nishkarsha News
२०८३ श्रावण २१, बिहीबार २०:३६

काठमाडौँ  / जापानमा अध्ययन, वैदेशिक रोजगारी र व्यवसायका नाममा बसोबास गर्दै आएका एक नेपाली दम्पतीले सोझा-साझा नेपालीहरूलाई प्रभावमा पारी करोडौँ रुपैयाँ ठगी गरेको गम्भीर खुलासा भएको छ।

स्थायी घर चितवनको भरतपुर महानगरपालिका-१० भई हाल जापान बसोबास गर्दै आएका सुवास केसी (बाबु: गोविन्द केसी, जन्ममिति: वि.सं. २०४२) र उनकी धर्मपत्नी रोशन बेलबासे (रोस्नी) ले योजनाबद्ध रूपमा ठगी धन्दा चलाएको आरोप लागेको हो। पीडितहरूका अनुसार, आकर्षक व्यक्तित्व, महँगा पहिरन र सामाजिक सञ्जालमा रवाफिलो जीवनशैली देखाएर विश्वास जित्ने र त्यसपछि लाखौँ-करोडौँ रुपैयाँ हडप्ने काम यो दम्पतीले गर्दै आएको छ।

सुरुमा जापानमा रहेका नेपाली साथीभाइ तथा नयाँ चिनजानका मानिसहरूसँग नजिकिएर “जापानमा ठूलो व्यवसाय सुरु गर्न लागिएको”, “नेपालबाट पैसा आउन बाँकी रहेको” वा “आकस्मिक गर्जो टार्नुपर्ने” बहाना बनाउने गरिन्छ। मात्र ५ देखि ७ दिनका लागि पैसा दिएमा आकर्षक बोनस वा फाइदा दिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ सापट वा लगानीका नाममा लिने गरिएको छ।

तोकिएको समय सकिएपछि पैसा फिर्ता माग्दा फोन नउठाउने, ह्वाट्सएप र मेसेन्जरमा ‘नो आन्सर’ बनाउने र विभिन्न बहाना बनाउने गरिन्छ। “ट्रेनमा छु”, “वाइफाइ/ब्यालेन्स छैन” वा “काममा व्यस्त छु” भन्दै निरन्तर भाका सारेर पीडितहरूलाई मानसिक रूपमा थकाउने रणनीति अपनाइन्छ। लामो समयसम्म पैसा नपाएपछि पीडितहरूले कडा रूपमा ताकेता गर्दा उल्टै जापानको प्रहरी र वकिलको नाम लिएर तर्साउने गरिएको छ। “प्रहरीमा उजुरी गरिसकेको” र “अब वकिलमार्फत किस्ताबन्दीमा मात्र कुरा हुने” भन्दै कानुनी कारबाहीको धम्की दिएर पीडितलाई दबाबमा राख्ने प्रयास गरिएको छ।

आले, मेक्सम तामाङ, बिरध्वज लामा, कडेल, गुरुङ, मगर र खत्री समूहका पीडितहरूका अनुसार ब्याजसहित पैसा दिने भन्दै बनाइएका कागजातहरू हातमा भए पनि रकम भने पाइने गरेको छैन। हालसम्म प्राप्त आधिकारिक प्रमाण र ह्वाट्सएप च्याटका स्क्रिनसटहरूका अनुसार एउटै सञ्जालबाट ९६ लाख र ५० लाख गरी साढे १ करोड रुपैयाँभन्दा बढी ठगी भएको पुष्टि भइसकेको छ।

नेपालको मुलुकी अपराध संहिता २०७४: दफा २४९ अनुसार ठगी गरेमा ७ वर्षसम्म कैद, ७० हजार रुपैयाँसम्म जरिवाना र ठगी भएको पूरै बिगो भराउने व्यवस्था छ। धेरै व्यक्तिहरू मिलेर गरिएको यस्तो अपराधलाई ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दायरामा समेत ल्याउन सकिन्छ।

जापानको मुलुकी ऐन (Penal Code of Japan – Article 246): ठगी (Fraud/Sagi – 詐欺) मा दोषी ठहरिएमा १० वर्षसम्मको कडा कैद (Imprisonment with work) को सजाय हुन्छ। साथै, सजाय भुक्तानपछि स्थायी रूपमा देश निकाला (Deportation) र जापान प्रवेशमा प्रतिबन्ध लगाइन्छ।
जापान तथा नेपालमा रहेका सम्पूर्ण नेपालीहरूलाई यी दम्पतीको कुनै पनि प्रलोभन वा झुटो आश्वासनमा नपर्न र कुनै पनि कागजातमा हस्ताक्षर नगर्न आग्रह गरिएको छ। ठगीमा परेका पीडितहरूलाई तुरुन्तै जापान प्रहरी (Japanese Police) र टोकियोस्थित नेपाली दूतावास (Embassy of Nepal, Tokyo) मा लिखित उजुरी दर्ता गर्न अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्