दमक/ दमक–५ स्थित सर्वोदय अंग्रेजी माविले चालू शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत तथा सम्मानमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
होटल मेनेजमेन्ट, कम्प्युटर साइन्स लगायतका बिद्यार्थीको आकर्षण रहेका बिषयहरुको अध्यापन गराउँदै आएको सर्वोदयले नेपालीरिका होटलको सभहलमा औपचारिक कार्यक्रम गरी नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत सम्मान गरेको हो । सर्वोदय बाल क्लबका बिद्यार्थीहरुको सक्रियतामा आयोजित सो कार्यक्रममा विद्यालयका कक्षा १० का विद्यार्थीहरूले साँस्कृतिक पहिचान झल्किने साँस्कृतिक पोशाकमा आकर्षक स्वागत नृत्य प्रस्तुत गरे ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई ९प्रसाइँ०को प्रमुख आतिथ्य र सर्वोदय अंग्रेजी माविका व्यवस्थापन समिति अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख भट्टराईले निरन्तरको मेहनत र परिश्रमले मात्रै हरेक मानिसलाई सफलता मिल्ने बताउँदै प्रभावकारी र अनुशासित भएर मेहनत गरे बिद्यार्थीको भविष्य उज्वल हुने बताइन् ।
विद्यालयका प्रिन्सीपल नविन योगीले बिद्यालयले बिद्यार्थी र अभिभावकको हितलाई माथि राखेर शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले विश्व बजारमा बढ्दो होटल मेनेजमेन्ट तथा पाक कला सम्बन्धीको सीप र ज्ञान बिद्यार्थीहरुमाझ लैजान पाउँदा सर्वोदयलाई सन्तुष्टि मिलेको बताए ।
उनले बिद्यार्थीहरुलाई अनुशासनको दायरामा रहेर आफ्नो भविष्यसँगै अभिभावकहरु र बिद्यालयले गरेको लगानी सम्झिएर आफ्नो अध्ययनलाई अघि बढाउन आग्रह गरे ।
परिवारले विद्यार्थीहरूको उज्ज्वल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै अनुशासित, गुणस्तरीय र सिर्जनशील शिक्षामार्फत सफल भविष्य निर्माण गर्न प्रेरित गरेको थियो। विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।