झापा/ कमल गाउँपालिका वडा नं ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, रंगपुरमा स्वास्थ्य परिक्षणका लागि आवश्यक प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा आएको छ । ल्याब सेवा शुभारम्भसँगै त्यहाँ एक दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ ।
ल्याब सेवासँगै स्वास्थ्य शिविरको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले उदघाटन गर्दै प्रयोगशालामा जडान गरिएका उपकरण, सामग्री तथा रसायनहरूबारे जानकारी लिए । अध्यक्ष राईले ति सेवाको गुणस्तर र प्रभावकारितामा कमि हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।
अध्यक्ष राईले गाउँपालिकाका दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय प्रयोगशाला सेवा घरआँगनमै उपलब्ध गराउने स्थानीय सरकारको लक्ष्य अनुसार ल्याब सेवा विस्तार गरिएको जानकारी दिए । उनले कमल–७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै आगामी दिनमा आवश्यकता र स्रोतका आधारमा थप स्वास्थ्य सेवाहरू विस्तार गरिने प्रतिबद्धता गरे ।
कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले गाउँपालिकाभित्र रहेका अन्य आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा समेतसेवा विस्तारमा जोड दिए । उनले सबै वडाका नागरिकलाई प्रयोगशाला सेवा उपलब्ध हुनु आवश्यक रहेको उल्लेख गरे । सो अवसरमा वडाध्यक्ष पृथ्वीपति राईले वडाबासीको स्वास्थ्य सेवामा प्रतिबद्धता जनाए । कार्यक्रममा कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले ल्याब सेवा विस्तार कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै स्वागत गरेका थिए ।
ल्याब असिस्टेन्ट गीता न्यौपानेले सो केन्द्रबाट रगत, पिसाब (युरिन), दिसा (स्टुल),सुगर जाँच, परीक्षणका साथै गर्भवती महिलाका आवश्यक प्रयोगशाला परीक्षणहरू नियमित रूपमा सञ्चालन हुने जानकारी दिइन् ।
ल्याब सेवा शुभारम्भसँगै आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेका थिए । शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका स्थानीय सेवाग्राहीले सेवा लिई लाभान्वित भएका थिए ।
ल्याब सेवा सञ्चालनमा आएपछि अब कमल–७ तथा आसपासका बासिन्दाले सामान्य प्रयोगशाला परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको वडाध्यक्ष राईले बताए ।
यस सेवाले समयमै रोग पहिचान, उपचार तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान र्पुयाउने विश्वास लिइएको छ ।