चिकित्सकमाथि आक्रमणको बिरोध, आकस्मिक बाहेकका सेवा बन्द

Author Nishkarsha News
२०८३ श्रावण १२, मंगलवार ११:०७

झापा/ नेपाल चिकित्सक संघ (एनएमए) ले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज (मंगलबार) देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेक सबै स्वास्थ्य सेवा बन्द गरेको छ।

संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा साउन १० गते नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेको घटनाको कडा शब्दमा भर्त्सना गरेको छ।

विज्ञप्तिअनुसार आक्रमणमा चिकित्सक डा. प्रमोद राम सहित अन्य स्वास्थ्यकर्मी घाइते भएका छन्। घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम तत्काल कानुनी कारबाही गर्न संघले सरकारसँग माग गरेको छ। साथै चिकित्सकमाथि दुर्व्यवहार भएको भनिएको घटनामा सम्बन्धित प्रशासनिक अधिकारीहरूको भूमिकाको समेत छानबिन गरी आवश्यक कारबाही गर्न आग्रह गरिएको छ।

नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने जनाएको छ। आन्दोलनका कारण बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी सरकारको हुने पनि संघले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्