दमक/ झापाको दमक तथा आसपासका क्षेत्रमा यतिबेला भाइरल ज्वरो र रुघाखोकीका बिरामीको संख्या ह्वात्तै बढेको छ। बिरामीको अत्यधिक चापका कारण अस्पतालहरूमा उपचार सेवा व्यवस्थापन गर्नै कठिन भएको अस्पतालहरूले बताएका छन्।
सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद सरकारी स्वामित्वको दमक अस्पताल तथा सामुदायिक अस्पतालका रूपमा सञ्चालित आम्दा अस्पतालले नियमित उपचार सेवा सञ्चालन गरिरहेका छन्।
आम्दा अस्पताल १०० शय्याको क्षमता भएको अस्पताल हो भने दमक अस्पताल १५ शय्याको स्वीकृति प्राप्त भए पनि हाल ५० शय्या सञ्चालनमा छन्। तर अहिले दुवै अस्पतालका सबै शय्या भरिएका छन्।
अस्पतालका अनुसार पछिल्लो एक सातादेखि बिहानदेखि रातिसम्म मात्रै होइन, २४सै घण्टा बिरामीको अत्यधिक चाप रहेको छ। ओपीडीदेखि आकस्मिक कक्षसम्म उपचारका लागि आउने बिरामीको भीड बढेको छ ।
चिकित्सकहरूका अनुसार अधिकांश बिरामीमा १०० देखि १०५ डिग्री फारेनहाइटसम्मको उच्च ज्वरो, सुख्खा खोकी, छाती दुख्ने, हातखुट्टाका मांसपेशी दुख्ने, टाउको दुख्ने तथा शरीर गल्ने जस्ता लक्षण देखिएका छन्।
बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूमा संक्रमणको असर तुलनात्मक रूपमा बढी देखिएको चिकित्सकहरूको भनाइ छ ।
दमक अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार दैनिक उपचारका लागि आउने एक हजारभन्दा बढी बिरामीमध्ये करिब ५० प्रतिशत अहिले भाइरल ज्वरो र श्वासप्रश्वाससम्बन्धी संक्रमणबाट पीडित छन्।
पछिल्लो केही दिनयता ज्वरो र रुघाखोकीका बिरामी उल्लेख्य रूपमा बढेका छन्। अस्पतालका सबै शय्या भरिएका छन् र उपचारका लागि आउने बिरामीको चाप व्यवस्थापन गर्न चुनौती भइरहेको छ, डा. घिमिरेले बताए ।
स्वास्थ्यकर्मीहरूले अनावश्यक रूपमा भीडभाडमा नजान, मास्कको प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन, प्रशस्त झोलिलो पदार्थ सेवन गर्न तथा ज्वरो वा रुघाखोकीका लक्षण देखिएमा घरमै औषधि सेवन गर्नुको सट्टा स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको सल्लाह लिन आग्रह गरेका छन्।
स्वास्थ्यकर्मीका अनुसार हाल देखिएको संक्रमण अधिकांशमा भाइरल प्रकृतिको भए पनि लक्षण गम्भीर बन्दै गएमा वा श्वास फेर्न गाह्रो भएमा तत्काल अस्पताल पुग्नुपर्ने अवस्था रहेको छ ।