सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने प्रयास , नेकपा नेता पुरीलाई पक्राउ पूर्जी

Author Nishkarsha News
२०७६ मंसिर २१, शनिबार ०७:१४

बिर्तामोड / सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा जिल्ला अदालत झापाले नेकपाका स्थानीय नेता गगन पुरीलाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरीले दमक नगरपालिका–८ स्थित सरकारी जमिन मालपोत र नापीका कर्मचारीहरुसँग मिलेर व्यक्तिको नाममा पार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउन खोजेको डीएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए। पुरीले उक्त सरकारी जग्गा पास गरिदिन लागेका पथरीका ओमप्रकाश पौडेललाई मंसिर १६ गते पक्राउ गरेको छ। प्रहरीकाअनुसार पौडेल टेम्पो चालक हुन्।

२ कट्टा जमिन दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउनेगरी काम अघि बढाएको अनुसन्धानबाट खुलेको छ। सरकारी जमिन व्यक्तिको नाममा लानका लागि पुरीले सरकारी छाप र हस्ताक्षर दुरुपयोग गरेको डीएसपी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठकाअनुसार उक्त जमिन व्यक्तिको नाममा पास गराउने कार्यमा मालपोत र नापीका कर्मचारी तथा सर्ज्मिन गर्ने व्यक्तिहरुबारे पनि अनुसन्धान भइरहेको छ। पुरीले उक्त सरकारी जमिन ०७१ सालदेखि व्यक्तिको नाममा पास गराउने प्रक्रिया सुरु गरेको अनुसन्धानबाट देखिएको छ। – यो समाचार इकान्तिपुरबाट साभार गरिएको हो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्