दमक/ पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको सिलसिलामा झापाको दमक नगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
बुधबार दमकमा आयोजित कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत सम्पन्न गरिएको हो। कार्यक्रममा वडा नं. ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दा, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी तथा अन्य चलायमान जनसंख्यालाई लक्षित गरी एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनका सम्भावित जोखिमबारे जानकारी दिइएको थियो।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणसँगै बाहिरबाट आउने कामदारहरूको आवागमन बढ्दा महिलाहरू, बालबालिका तथा स्थानीय समुदायमा यौनजन्य हिंसा, दुर्व्यवहार र मानव बेचबिखनको जोखिम बढ्न सक्ने बताउँदै समयमै परीक्षण, उपचार र सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याइन्। स्वास्थ्यकर्मी दीपक दाहालले एचआईभी/एड्स तथा यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए भने दमक इलाका प्रहरी कार्यालयका प्रहरीका सहि कुमार खतिवडाले मानव बेचबिखन तथा लागू औषधसम्बन्धी जोखिम र सुरक्षाका उपायबारे प्रोजेक्टरमार्फत प्रस्तुति दिएका थिए।
कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उप-प्रमुख रेगिना भट्टराई प्रसाईंले सडक बनाउन विभिन्न देशबाट कामदारहरु यहाँ आएको बताउँदै उनीहरुबाट हुनसक्ने जोखिमबाट बच्न नगरबासीहरु सचेत हुनु पर्ने र आयोजना हेर्नेले पनि गम्भिर भएर ध्यान दिनु पर्नेमा जोड दिइन् । कार्यक्रममा दमक नगरपालिकाका प्रशासकीय अधिकृत यज्ञराज निरौला, आयोजनाका प्रतिनिधिहरु, दमक नगरपालिकाका सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक तथा स्थानीय गरी ८० भन्दा बढीको सहभागिता रहेको थियो।
विज्ञ सिंहका अनुसार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने योजना अनुसार झापाका ६ वटा पालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी मोरङ र सुनसरीका पालिकाहरूमा कार्यक्रम जारी रहेको साथै सडक छेउका ६० स्थानमा लैङ्गिक हिंसाविरुद्ध चेतनामूलक साइनबोर्ड राख्ने लक्ष्यअनुसार हाल मोरङ र सुनसरीका करिब ३० स्थानमा साइनबोर्ड राखिसकिएको र बाँकी स्थानमा राख्ने कार्य भइरहेको जानकारी दिइन्।