दमक/ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको २९ औं बार्षिक साधारण सभा कार्तिक २८ गते शुक्रबार हुँदैछ ।
संस्थाको दमक १ स्थित कार्यालयको सभाकक्षमा हुने साधारण सभाको पूर्व सन्ध्यामा आज बिहिबार पत्रकार सम्मेलन गर्दै साधारण सभामा प्रस्तुत हुने बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।
संस्थाका अध्यक्ष रवि न्यौपाने सचिव चन्द्र थापा, लेखा संयोजक राधिका ओझा, व्यवस्थापक कृष्ण थापा, संस्थाका कार्यसमिति सदस्यहरु दुर्गा खनाल (काफ्ले), रीता श्रेष्ठ, गजेन्द्र देवान, पार्वता ढकाल, दिलु सुब्बा, सल्लाहकार बिष्णुमाया भट्टराई , लेखा सदस्य हरी राई लगायतले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गर्नु भयो ।
५४ पृष्ठ लामो सो प्रतिवेदनमा संस्थाको हाल सम्मको उपलब्धी, बिगतदेखि भावी नीति, कार्यक्रमहरु, सेवा प्रवाह, आर्थिक पक्ष (आय व्यय), सञ्चालनमा रहेका संस्थागत कार्य योजना र भावी रणनीतिहरु आदी बिषय समेटिएको छ ।
सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष न्यौपानेले आर्थिक बर्ष २०८१/०८२ को वास्तविक खर्च ८ करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको र आर्थिक बर्ष २०८२/०८३ का लागि ८ करोड ६९ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिनु भयो । २०५१ सालदेखि शुरु भएको दमकको खानेपानीलाई नगरका सबै वडामा पुरयाउने लक्ष्य रहेको उल्लेख गर्नु भयो । उहाँले उपभोक्ताको माग र आवश्यकतालाई अध्ययन गरी संस्थाको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै बिगतमा न्यूनतम ८ युनिट सम्म खानेपानी शुल्क १३० रुपैयाँ रहेकोमा वर्तमान नेतृत्वले सो शुल्क न्यूनतम ५० रुपैयाँ कायम गरेको , धारा जडान शुल्क १५ हजार ३०० रहेकोमा ३ हजार रुपैयाँ कटौती गरी हाल १२ हजार ३ सय रुपैयाँ मात्रै कायम गरेको पनि जानकारी दिनु भयो । न्यून आय भएका घर परिवारलाई क्षेत्रगत आधारमा ५ घरलाई पूर्ण निशुल्क र १५ घरलाई ५० प्रतिशत छुटमा धारा जडान गर्ने नीति लिइएको पनि सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
उपभोक्ताहरुबाट भइरहेको पानीको मागलाई ध्यानमा राखेर २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउन संस्था प्रयत्नशील रहेको , योजनालाई थप दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन प्रयत्नशील रहेको पनि अध्यक्ष न्यौपानेले उल्लेख गर्नु भयो । उपभोक्तालाई महसुल तिर्न सहज बनाउने उद्धेश्यले क्यूआर तयार गरी जडान गर्ने कार्य भइरहेको पनि जनाइएको छ ।
अघिल्लो आर्थिक बर्षमा सिस्टम नम्बर १ वडा नं २ बाट पानी वितरण गर्न संस्थाको दमक २ अडियामल स्थित जग्गामा १ सेट प्रेशर फिल्टर तथा बोरिङ निर्माण गरी पानी सञ्चालन गरिएको , खानेपानी आयोजनाको जिआइएस तथा क्यूआर जडान गरिएको , हाल सम्म १२ वटा सार्वजनिक धारा निशुल्क जडान गरिएको, विपन्न परिवारमा ५० प्रतिशत छुटमा ६३ वटा र १२ परिवारमा निशुल्क धारा जडान गरिएको पनि पत्रकार सम्मेलनमा जनाइएको छ । दमकको खानेपानीमा करीब १४ हजार भन्दा धेरै धारा उपभोक्ता छन् ।