इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण सुरु गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ।
कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिनुको साथै आकाशमा ज्वाला पनि देखिएको अल जजिराले बताएको छ।
इरानको रिभोलुसनरी गार्ड्सले पनि कतारस्थित अल उदेइद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ। अल उदेइदमा १० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्।
इरानले यहाँ आक्रमण गर्नुअघि कतार सरकारलाई जानकारी दिएको इरानी अधिकारीहरुले बताएका छन्।
इरानका आणविक केन्द्रहरुमा अमेरिकाले आक्रमण गरेलगत्तै उसले बदला लिने आकलन गरिएको थियो। त्यसैले अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई सोमबार बाहिर ननिस्किन भनेका थिए।
कतारले पनि आफ्नो आकाशमा उडान रद्द गरेको थियो–एजेन्सी