दमक/ दमकको बसपार्क तथा अन्य सवारी तथा यात्रुको चाप रहने अधिकांश स्थानहरुमा सार्वजनिक शौचालयको अभाव हुँदा यातायात मजदुरदेखि सर्वसाधारण सम्मले सास्ती ब्यहोर्नु परिरहेको छ ।
दमकको बसपार्क क्षेत्रमा एउटा सार्वजनिक शौचालय भएपन ित्यहाँ २४ सै घण्टा सेवा उपलब्ध नरहेको , व्यवस्थित र सफा शौचालय नहुँदा चर्को समस्या ब्यहोर्नु परिरहेको हो ।
सरकारले पर्यटन बर्षका रुपमा २०२० लाई मनाउँदै गर्दा सार्वजनिकस्थलहरुमा सर्वसाधारणका लागि शौचालय नहुनु दुखद भएको स्थानीय अगुवा युवा एवम् पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष छवि बाँस्कोटा बताउनु हुन्छ ।
खुल्ला दिशामुक्त भनिएको दमक नगरमा पर्याप्त सार्वजनिक शौचालयको उपलब्धता नहुनु दुखद भएको उहाँको बुझाई छ । शौचालयको महत्व बुझेर स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुले ठाउँ ठाउँमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्न जरुरी रहेको बाँस्कोटा बताउनु हुन्छ ।
नेपाल यातायात मजदूर संघ झापाका उपाध्यक्ष बालकृष्ण श्रेष्ठ दमक चोक, बसपार्क, फाल्गुनन्द चोक, कृष्णमन्दिर लगायतका मानिस तथा सवारीहरुको चाप हुने स्थानमा तत्काल सार्वजनिक शौचालय बनाइनु आवश्यक रहेको बताउनु हुन्छ । उहाँले आफ्नो संगठनले यसैसाता दमक नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै दमक बसपार्क तथा अन्य सवारी पार्किङस्थलहरुमा सार्वजनिक शौचालय र स्वच्छ खानेपानीको प्रवन्ध मिलाउन माग गरेको बताउनु भयो ।
दमक नगरपालिकामा पुगेको संघको नेतृत्व टोलीले उपप्रमुख गीता अधिकारीलाई दमकका विभिन्न ६ स्थान किटान गरेरै सार्वजनिक शौचालय नहुँदा यातायात मजदुर र अन्य सर्वसाधारण यात्रुले समेत समस्या ब्यहोर्नुपरिरहेको भन्दै सोको समाधानका लागि तत्काल सार्वजनिक शौचालय र खानेपानीको सार्वजनिक धारा व्यवस्था गर्न माग गरेको थियो ।