दमक/ कमल–२ का वडाध्यक्ष अशोक सुब्बाले वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई अनौठो शैलीमा सम्मान गरेका छन् ।
वडाध्यक्ष सुब्बाले शुक्रबार तोकिएको जिम्मेवारीमा रहेका वडा भित्र क्रियाशील तीन जना स्वास्थ्य स्वयंसेविकालाई कार्यलय समयमा आफ्नै कार्यकक्षमा बोलाएर आश्चर्यजनक रुपमा सम्मान गरेका हुन् ।

वडाभित्र स्वास्थ्य सचेतना फैलाउने, बालबालिका र महिलाको प्राथमिक स्वास्थ्य सेवामा योगदान दिने, तथा हरेक स्वास्थ्य समस्यामा अग्रपंक्तिमा खटिने गरेका उषा दाहाल, इन्दिरा खड्का र चन्द्रकला भट्टराई ढकाललाई सम्मान स्वरूप वडा कार्यालयले प्रत्येकलाई दुई–दुई थान घडी ( महिला स्वास्थ्य स्वयंसेविका र पतिका लागि ) र दुई÷दुई थान हाते घडी र नगद एक हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

“स्वास्थ्य स्वयंसेविकाहरूको काम र समय अनि परिवार व्यवस्थापन यि सबै कुरालाई मध्यनजर गरेर हामीले प्रोत्साहन स्वरुप दम्पत्तीलाईनै घडी दिएर सम्मान गरेका हौं । सांकेतिक रुपमा समय व्यवस्थापनमा स्वयंसेविकाहरुको मात्रै नभएर उनीहरुको परिवारको पनि भुमिका हुन्छ भन्ने बुझाउन खोजेका हौं उहाँहरूको निष्ठा, समर्पण र निरन्तर सेवाको कदर गर्न पनि यो सम्मान गरिएको हो,” वडाध्यक्ष सुब्बाले भने ।
स्वास्थ्य स्वयंसेविकाहरुको काममा उहाँहरुका पतिको पनि भूमिका महत्वपूर्ण हुन्छ । घरको जिम्मेवारी सम्हाल्दै श्रीमतीलाई सेवा गर्न प्रेरणा दिने परिवारको योगदानको समेत कदर गर्दै एक थान घडी स्वयंसेविकालाई र अर्काे घडी उहाँका श्रीमानलाई दिएका हौं। साथै, नियमित सम्पर्कमा रहन सहज होस् भनेर . १,००० नगद प्रदान गरेका छौं”– वडाध्यक्ष सुब्बाले भने ।

कार्यक्रममा वडा सदस्य कल्पना राई, वडासचिव सागर दाहाल र वडा कर्मचारी अशेष भट्टराईको समेत उपस्थिति थियो । वडाले अघिल्लो वर्ष पनि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन स्वरूप एक–एक थान साइकल वितरण गरेको थियो ।

Facebook Comments Box