दमक/ दमकमा पहिलो पटक झापा मोडेल इङ्लिस स्कूलमा नमुना संयुक्त राष्ट्र संघको बैठक २०२५ को पहिलो संस्करण यसै साता सम्पन्न भएको छ ।

झापा मोडलका कक्षा ११ र १२ का विद्यार्थीहरूको नेतृत्व र दमकका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरूको समेत प्रतिनिधिमुलक सहभागिता, ललितपुरको रातो बंगला स्कूलका विद्यार्थीहरूको प्राविधिक सहयोगमा र दमक नगरपालिकासँगको सहकार्यमा लगातार तीन दिन सम्म यो कार्यक्रम सञ्चालन गरिएको थियो ।


कार्यक्रमले दमकका प्रतिनिधि विद्यार्थीहरूलाई अन्तराष्ट्रिय बिषयहरुको ज्ञान दिनुका साथै त्यस्ता मुद्दाहरूमा बहसको अभ्यास गर्न मद्धत पुर्याएको झापा मोडल अंग्रेजी माविका संस्थापक निर्देशक समेत रहेका एनप्याव्सन केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठ बताउँछन् ।

यस किसिमका कार्यक्रमले बिद्यार्थीहरुमा आलोचनात्मक सोच, कूटनीति र समस्या समाधान गर्ने सीपहरूको विकास गर्न महत्वपूर्ण अवसर प्रदान गरेको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) बताउँछिन् ।
बिषयबस्तुहरुको गहिरो अध्ययन र अनुसन्धान गरि गरिएका तर्कहरू प्रस्तुत गर्ने, समाधानका लागि वार्ता गर्ने र अर्थपूर्ण छलफलहरूमा संलग्न हुने बालबालिकाहरुको क्षमता बिकासमा पनि यसले महत्वपूर्ण योगदान दिएको उपप्रमुख भट्टराईको बुझाई छ ।
दमक नगरपालिका यहाँका युवाहरूमा सशक्तिकरणका लागि उनीहरूको समग्र विकासमा योगदान र्पुयाउने प्रतिबद्ध रहेको बताउँदै उपप्रमुख भट्टराईले यस किसिमको शैक्षिक प्रयासहरूप्रति स्थानीय सरकारका तर्फबाट समर्थन रहेको  सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् ।


आयोजकहरूलाई थप विविध विषयहरू समावेश गरेर र विद्यार्थीहरूको फराकिलो दायरालाई समावेश गर्न सहभागिता विस्तार गरेर यो पहललाई निरन्तर बढाउन आवश्यक रहेको पनि उनको भनाई छ ।
यस्ता कार्यक्रमहरूबारे आगामी पुस्ताका नेताहरूलाई राम्रोसँग जानकार र विश्वव्यापी रूपमा सचेत बनाउन आवश्यक छन्। – उनले भनेकी छिन् ।
बिद्यार्थीहरुबीच संयुक्त राष्ट्र संघको बैठकका अभ्यासहरु गराएर अन्तराष्ट्रिय बिषयबस्तुहरुको ज्ञान दिने उद्धेश्यले झापा मोडल अंग्रेजी मावि र ललितपुरको रातो बंगला स्कूलबीचको सहकार्य र दमक नगरपालिकासँगको समन्वयमा सञ्चालित सो कार्यक्रममा नगरका माध्यमिक तहका सामुदायिक बिद्यालयबाट समेत बिद्यार्थीहरु सहभागी गराइएको थियो ।

दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा झापा मोडल अंग्रेजी माविका प्रिन्सीपल सागर श्रेष्ठले कार्यक्रमको परिकल्पना, यसको आवश्यकता र औचित्यबारे प्रष्ट्याउँदै सहभागीहरुलाई स्वागत गरेका थिए
। बिद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले दमकमा मात्रै नभएर पूर्व क्षेत्रमा नै यस किसिमका कार्यक्रम पहिलो पटक आयोजना गरिएको बताएका थिए ।
कार्यक्रममा दमक नगर शिक्षा समिति संयोजक कुबेर भट्टराईले सो कार्यक्रमको प्रशंसा गरे । सो अवसरमा दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल, नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रविण खड्का लगायत शैक्षिक व्यक्तित्वहरुको विशेष उपस्थिती रहेको थियो ।

Facebook Comments Box