दमक/ दमकमा नै पहिलो पटक निसन्तान अर्थात बाँझोपनाको समस्या समाधान लक्षित ‘कोपिला फर्टिलिटी एण्ड वुमन क्लिनिक’ सञ्चालनमा आएको छ ।
औषधि विक्रीेदेखि अन्यत्रबाट आउने घुमुवा चिकित्सकहरुले बिरामी जाँच्ने सेवा दिँदै आएका दर्जनौं क्लिनिकहरुको भिडमा छुट्टै महिला सम्बन्धिको स्वास्थ्य जाँच तथा बाँझोपना उपचार लक्षित सो क्लिनिक सञ्चालनमा आएको हो ।
स्त्री रोग विशेषज्ञ डा. सीता राईले सञ्चालनमा ल्याएको ‘कोपिला फर्टिलिटी एण्ड वुमन क्लिनिक’को सेवाका बारेमा आइतबार संक्षिप्त जानकारी गराइएको छ ।
सो क्लिनिकको सेवाका बारेमा जानकारी दिन आयोजित संक्षिप्त कार्यक्रममा डा. राईले विश्वका झण्डै १० प्रतिशत दम्पत्ती निसन्तानको समस्या झेलिरहेको बताइन् ।
उनले निसन्तानको समस्या समाधानका लागि उपयुक्त परामर्श र उपचार सेवा जरुरी हुने बताइन् ।
डा. राईले भनिन्– धेरै नेपालीहरु यो समस्याबाट गुज्रिरहनु भएको छ । उहाँहरुको समय र पैसा दुवै खेर गइरहेको छ । अब हामी सन्तान प्राप्तीको लागि दम्पत्तीहरुलाई उपयुक्त परामर्श र उपचार सेवा पनि दिन्छौं ।
झापा, इलाम, पाँचथर र मोरङको पूर्वी उत्तर क्षेत्रका बासिन्दालाई समेत लक्षित गरेर दमकमा कोपिला सञ्चालनमा ल्याइएको डा. राईको भनाई छ ।
गएको मसिंरदेखि दमकको जेसीज चोक नजिकै सञ्चालनमा आएको सो क्लिनिकमा महिलाको स्वास्थ्य सम्बन्धिका अन्य समस्याहरुको जाँच तथा उपचार सेवा दिइने सञ्चालिका समेत रहेकी डा. राईले बताइन् । दमकमै पहिलो पटक यस्तो क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
क्लिनिक सञ्चालक अर्का डा. सन्तोष खत्रीले स्वदेशमै सुलभ दरमा गुणस्तरीय उपचार सेवा दिनका लागि सो क्लिनिक खोलिएको दाबी गरे ।
कोपिला फर्टिलाइजर एण्ड वमन क्लिनिकमा विशेषज्ञ सेवासहित ल्याब, भिडियो एक्सरे, फार्मेसी लगायतका सेवा उपलब्ध रहेको जनाइएको छ ।