दमक/ एनप्याब्सन झापाको जिल्लास्तरीय फुटबल प्रतियोगिता झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी खेलमैदानमा १४ माघदेखि सुरु भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको हो । विभिन्न खेल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिदै आएकोमा आज सुरुङ्गामा फुटबल खेलबाट ६ दिवसीय कार्यक्रमको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख देवेन्द्र मल्लले उदघाटन गरे ।
प्रतियोगिताको समापन दमकस्थित झापा मोडल स्कुलमा हुनेछ ।
सो अवसरमा जिल्ला शिक्षा समन्वय समिति झापाका प्रमुख मल्लले शिक्षाको अभिन्न अंगको रुपमा अतिरिक्त क्रियाकलापलाई विद्यालयले विशेष जोड दिनुपर्ने बताए । उनले किताबी ज्ञानले परीक्षा मात्र पास हुने भएकाले जीवनको परीक्षामा पास हुने विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिए ।
एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठले विद्यार्थीहरुलाई किताबी ज्ञानको साथसाथमा शारिरीक र मानशिक ज्ञान सीप दिनका लागि हरेक बर्ष एनप्याब्सनले यसप्रकारका प्रतिस्र्धात्मक खेल प्रतियोगिताहरुको सञ्चालन गर्दै आइरहेको बताए ।
एनप्याब्सन झापाका कार्यवाहक अध्यक्ष ओमबिक्रम नेम्वाङले जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत जिल्लाका ५२ वटा विद्यालय एनप्याब्सनमा आबद्ध रहेको जानकारी दिए ।
प्रतियोगात्मक १३ वर्ष मुनीको फुटबल प्रतियोगितामा १६ वटा विद्यालय सहभागी छन् ।
जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत भलिबल, टेनिस, ब्याडमिन्ट लगायत खेलकुद प्रतियोगिता जिल्लाका विभिन्न स्थानमा हुनेछ भने सांस्कृतिक तथा आधुनिक नृत्य प्रतियोगिता समेत हुनेछ ।
आजको प्रतियोगिता सुरु हुनुपुर्व एन प्याब्सनमा आवद्ध झापाका सबै विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए ।
