दमक/ झापाको दमकमा अन्तराष्ट्रिय सञ्जाल भएको अर्को एक सामाजिक संस्था किवानिस इन्टरनेशल क्लब अफ दमक आजदेखि औपचारिक रुपमा स्थापना भएको छ ।

केहि महिना अघिदेखि सो क्लबका नाममा स्थानीय युवा व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुले विभिन्न गतिबिधिहरु सञ्चालन गर्दै आएपनि औपचारिक रुपमा पदस्थापन आज भएको हो ।
आज गरिएको पदस्थापन अनुसार क्लबको प्रेसिडेन्टमा रवि केसी, इलेक्टेड प्रेसिडेन्टमा शशीराज विष्ट , भाईस प्रेसिडेन्टमा गोविन्दराज कट्टेल र ट्रेजररमा रमा लिम्बु रहनु भएको छ ।
क्लब सञ्चालनका लागि गठन गरिएको ११ सदस्यीय कार्यकारीणि बोर्डका सबै पदाधिकारी एवम् बोर्ड मेम्बरहरुलाई क्लबका डिस्ट्रिक्ट गभर्नर सुरज श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराउँदै जिम्मेवारीहरुका बारेमा अवगत गराउनु भएको थियो । अध्यक्ष केसीको अध्यक्षता र दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा क्लबले सामुदायिक विद्यालयमा अध्ययनरत दमकका २ जना विद्यार्थीको कक्षा १० को सम्मको अध्ययनका लागि अभिभावकत्व समेत ग्रहण गरेको थियो ।
त्यसैगरी विभिन्न ३ विद्यालय र एक बालविकास केन्द्रका १ सय जना विद्यार्थीलाई किताब बोक्ने झोला प्रदान गरिएको पनि घोषणा गरियो । विशेष बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, वातावरण र नेतृत्व विकासका लागि सो क्लबले जेसीज, युनिसेफ लगायतका अन्तराष्ट्रियस्तर सम्म सञ्जाल भएका संस्थाहरुसंग सहकार्य गरेर काम गर्दै आएको गभर्नर श्रेष्ठले जानकारी गराउनु भयो । कार्यक्रममा प्रमुख अतिथी उपमेयर अधिकारी, रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाइँ लगायतले सामाजिक सेवाका क्षेत्रमा युवाहरुलाई प्रेरित गर्ने यस किसिमका संस्थाहरुबीच समन्वय र सहकार्यमा जोड दिए ।
