दमक/ भारतीय सीमासँग जोडिएका झापाका बजारहरुमा प्रतिबन्धित भारतीय कुखुरा र अण्डाको विक्री वितरण भईरहेको भन्दै त्यसलाई कडाइँसाथ रोक्न स्थानीय कुखुरापालक तथा अण्डा उत्पादक किसानहरुले माग गरेका छन् ।

पछिल्लो समय भारतसँग सीमा जोडिएका काँकरभिट्टा , भद्रपुर नाकासँगै कचनकवल, झापा बजार, गौरीगञ्ज, खजुरगाछी लगायतका नाका हुँदै बजारमा सेतो खोल भएका भारतीय अण्डा छ्यापछ्याप्ती भित्रिएपछि झापाली अण्डा उत्पादक किसानहरुले त्यस्तो माग गरेका हुन् ।

अण्डा उत्पादक संघ झापाका अध्यक्ष भरत चम्लागाइँका अनुसार कोशी प्रदेश अन्तर्गत झापा, मोरङ, सुनसरी लगायतका भारतसँग सीमा जोडिएका नाकाहरुबाट गैरकानुनी रुपमा भईरहेको कुखुराका चल्ला, सेतो अण्डा र कुखुराका मासुको आयात रोक्न माग गर्दै कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई मन्त्रालयमा पुगेर ज्ञापन पत्र समेत बुझाइएको छ ।  स्थानीय किसानहरुले कुखुरा तथा अण्डा उत्पादन सम्बन्धिको कृषि व्यवसायमा गरेको ठुलो लगानी जोखिममा पार्दै भारतीय उत्पादन बजारमा भित्रिरहेकाले त्यसलाई कडाइँसाथ रोक्नुपर्ने उनीहरुको माग छ ।

कुखुरा र अण्डाको गुणस्तर मापन समेत नगरी भारतीय बजारबाट जथाभावीरुपमा गैरकानुनी ढंगबाट आयात भएको यस्ता बस्तुको उपभोगका कारण मानव स्वास्थ्यमा समेत गम्भिर असर पुरयाइरहेको छ ।

Facebook Comments Box