दमक/ पढाईसँगै एकताका खेलकुदका क्षेत्रमा राष्ट्रिय प्रतियोगिता समेत जित्न सफल दमक १ स्थित चुलाचुली अंग्रेजी माविले बर्षेनी सञ्चालन गर्दै आएको अन्तर सदनात्मक तथा लिग फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ ।
गत २६ मसिंरदेखि शुरु भएको खेलकुदका विविध कार्यक्रमहरु मध्येको एक महत्वपूर्ण यो प्रतियोगितामा सोही बिद्यालयका विभिन्न सदनमा रहेका खेलाडीहरुले उत्साहपूर्वक भाग लिएका थिए ।

सो प्रतियोगिता अन्तर्गतको आज भएको फाइनल खेलमा सिनियर तर्फको खेलमा युनिस भट्टराई सदन च्याम्पियन बनेको छ भने जुनियर तर्फ पायल प्रथा सदन च्याम्पियन बन्दै पुरस्कार जित्न सफल भएको छ ।
सिनियर तर्फको फाइनलमा प्रिसा राई सदनलाई ३–२ को गोल अन्तरले हराउँदै युनिस विजेता बन्न सफल भएको हो । सो खेलमा युनिस सदनका अनिस वान्तवा राई उत्कृष्ट खेलाडी घोषित हुँदै उत्कृष्ट स्कोरर पनि बन्न सफल भए । उनले प्रतियोगिताको अवधिभर कूल ६ गोल गरेका थिए । त्यसैगरी जुनियर तर्फको फाइनल खेलमा पायल प्रथा सदनले युनिस सदनलाइ २–० को गोल अन्तरले हराउँदै विजेता बनेको हो । सो खेलमा विजेता टिमका अर्पण कुँवर उत्कृष्ट खेलाडी बनेका छन भने उत्कृष्ट स्कोररको पुरस्कार रमन थापा मगर र सवल भट्टराईले जितेका छन् । उनीहरुले समान ६–६ गोल गर्न सफल भएका छन् ।


सो बिद्यालयले आधारभूत तह तर्फ (कक्षा ६, ७ र ८ ) का ६ वटा टिम र मावि (कक्षा ९ र १० ) का ६ वटा टिमबीच पहिलो र दोश्रो राउण्ड लिगमा आधारित र तेस्रो र चौथो राउण्ड नकआउटमा आधारित भई खेल खेलाएको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई बिद्यालयका संस्थापक निर्देशक मनोज कुमार राई, प्रिन्सिपल चन्द्रप्रकाश राई लगायतले पुरस्कार , ट्रफी र मेडल प्रदान गरेका छन् । दमककै पुराना बोर्डिङ स्कूल मध्येको एक चुलाचुली अंग्रेजी माविले पढाईसँगै बिद्यार्थीहरुमा एथलेटिक्स बिकासका लागि विभिन्न खेलकुद गतिबिधिहरु सञ्चालन गर्दै आएको छ ।
सो बिद्यालयले यसअघि फुटबलमा पाँच पटक सम्म जिल्ला च्याम्पियन, दुई पटक प्रदेश च्याम्पियन र एक पटक राष्ट्रिय च्याम्पियन बनेर गौरवपूर्ण इतिहास बनाइसकेको छ ।
सो बिद्यालयका कतिपय पूर्व बिद्यार्थीहरु राष्ट्रिय फुटबल टिममा पनि पर्न सफल भइसकेका छन् । बिद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप अन्तर्गत एथ्लेटिक्स क्षेत्रमा अघि बढाइरहेको बिद्यालयका प्रिन्सिपल चन्द्रप्रकाश राईले जानकारी दिए ।

 

Facebook Comments Box