दमक/ झापाको दमक ८ स्थित रोजिएट ब्राईट बोर्डिङ स्कुलले उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण तथा एसईई उत्तीर्ण बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ । बाल दिवसको अवसर पारेर बिद्यालयले आयोजना गरेको कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी भट्टराईले बिद्यार्थीहरुको चौतर्फी बिकासका लागि प्रोत्साहनका कार्यक्रमहरु पनि आवश्यक हुने बताइन् । उनले बिद्यार्थीलाई किताबी ज्ञान मात्रै नभएर ब्यवहारिक शिक्षालाई पनि बिद्यालयले जोड दिनु पर्ने सुझाव दिइन् । बिद्यालय तथा क्याम्पसहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्रै नभएर योग्य नागरिक उत्पादन गर्ने ठाउँ बन्नु पर्ने उपप्रमुख भट्टराईको भनाई थियो ।
कार्यक्रममा बिद्यालयका बिभिन्न कक्षाका उत्कृष्टसहित अनुशासित बिद्यार्थीहरुलाई प्रमुख अतिथि भट्टराईले पुरस्कार वितरण गरिन् । त्यसैगरी उत्कृष्ट शिक्षक र स्काउटका उत्कृष्ट बिद्यार्थीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
बिद्यालयका अध्यक्ष सुर्यबहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थीहरुले गीत तथा नृत्यु प्रस्तुत गर्दै रमाएका थिए ।
सो कार्यक्रमको सञ्चालन बिद्यालयका प्रिन्सीपल रुद्र दाहालले गरेका थिए भने सांगितिक कार्यक्रमको सञ्चालन बिद्यार्थीहरुले गरेका थिए ।