दमक/ ईसाई समाज दमकले दमकमा आयोजना गरेको प्रदेशस्तरीय अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङ इसाई समाज पाँचथरले जितेको छ ।
शुक्रबार सम्पन्न दोस्रो संस्करणको सो फुटसल प्रतियोगिताको फाइनलमा धरान इसाई समाजलाई पेनाल्टीमा हराउँदै मिक्लाजुङले उपाधि जितेको हो । उपाधिसँगै विजेता टिमले नगद ३० हजार रुपैयाँ हात पारेको छ । उपविजेता धरानले २० हजारमा चित्त बुझाएको छ । फ्रेण्डसिप, सम्बन्ध र संगति खेलको मुख्य नारा रहेको सो प्रतियोगिताको समापनमा कोशी प्रदेश सभा सदस्य तथा कोशी प्रदेश सभाको प्राकृतिक स्रोत तथा पूर्वाधार बिकास समिति सभापति होमबहादुर थापा, प्रदेश सभा सदस्य चिन्तन पाठकले विजेता तथा उपविजेता टिमलाई नगद पुरस्कार , ट्रफी र मेडल हस्तान्तरण गरेका छन् । उत्कृष्ट गोल रक्षक सुजन बर्देबा, सर्वाधिक गोलकर्ता सनिल राई, र उत्कृष्ट खेलाडी सुमन राईलाई ट्रफी प्रदान गरिएको छ । खेलको समापन अघि दमक ईसाई समाजका पास्टर तथा पत्रकारहरुको मैत्रीपूर्ण खेल भएको थियो ।
दमक ५ स्थित बिस्ट फुटसल खेलमैदानमा भएको प्रतियोगिताको फाइनलमा कडा प्रतिस्पर्धात्मक खेल भएको थियो । प्रतियोगितामा विभिन्न जिल्लाबाट १२ समूहले भाग लिएका थिए ।
यसअघि प्रतियोगिताको उदघाटन दमक नगर प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्य तथा कार्यक्रम संयोजक एल्डर शिखर राईको अध्यक्षतामा भएको थियो ।
उदघाटनमा दमक वडा नं. ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, इसाई समाजका अध्यक्ष हेमन्त सुब्बा, सचिव अजय पाठक, समाजका सल्लाहकार राजकुमार राई, निवर्तमान अध्यक्ष आकाश थुलुङ लगायतको उपस्थिती थियो ।