दमक/ दमक नगरपालिकाको वडा नं ५ ले बालमैत्री वडा घोषणाको सहमति प्राप्त गरेको छ । सो वडालाई दमक नगरकै पहिलो बालमैत्री वडा घोषणा गर्ने तयारी छ । नगरपालिकाले पहिलो बाल मैत्री वडा घोषणा गराउने वडालाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको छ ।
वडा नं ५ का वडा सचिव निधि ढुंगेलका अनुसार सो वडाले बाल मैत्री घोषणाका लागि आवश्यक सबै शर्त तथा सुचाकंहरु पुरा गरेको र सो सम्बन्धिको जानकारी सम्बन्धित निकायमा गराइइसकेकाले अब छिट्टै बाल मैत्री वडा घोषणा गरिनेछ ।
वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङले नगरमा पहिलो बाल मैत्री वडा घोषणा गरिन लागेकाले यसको सफल कार्यान्वयनका लागि आम वडाबासीहरुमा अपिल गरेका छन । उनले बाल मैत्री वडा घोषणाको लागि सहमति पत्र प्राप्त भइसकेको बताए । यो अन्तिम प्रकृया हो, हामीले सबै तयारी पूरा गरेका छौं , अब केही दिनमै कार्यक्रम तय गरेर औपचारिक घोषणा हुनेछ–वडाध्यक्ष गुरुङले भने ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले दमकको वडा नं ५ पहिलो बाल मैत्री घोषणा हुन लागेको बताउँदै यस लगत्तै अन्य चार वटा वडालाई पनि बाल मैत्री घोषणा गर्ने तयारी भइरहेको जानकारी दिइन । उपप्रमुख भट्टराईका अनुसार वडा नं २, ६, ७ र ८ लाई पनि चरणबद्ध रुपमा बालमैत्री घोषणा गर्ने तयारी छ । बालमैत्री घोषणा हुनुअघि बालबालिकासँग सम्बन्धित करिब वठा सुचांकहरुलाई महत्वसाथ हेर्ने गरिन्छ ।
बालबालिकाहरुमा अनिवार्य लगाइनुपर्ने खोपको सुनिश्चितता, सार्वजनिकस्थलहरुमा बालमैत्री व्यवहार, बाल बिबाह, बाल श्रम, बालबालिकाका आधारभूत आवश्यकताहरुको उपलब्धता, मनोरञ्जन, बिद्यालयमा उनीहरुको पहुँच लगायतका बिषयलाई हेर्ने गरिन्छ । बालमैत्री घोषणा गरिएको क्षेत्रमा बाल बालिकासँग सम्बन्धित कानुनको उल्लंघनका घटना भएमा कडाइँपूर्वक कानुन बमोजिम दण्डित गर्ने व्यवस्था रहेको बताइएको छ ।