पाँचथर/ पाँचथरको जिल्ला कारागार भित्र सुँगुरको मासुसंगै पित्त र कलेजो पकाएर खाएर विरामी परेका मध्ये थप एक कैदी बन्दीको उपचारका क्रममा ज्यान गएको छ । मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राईको मृत्यु भएको हो ।
उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । राईसँगै सँुगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
यसअघि गत असोज १९ गते दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको मृत्यु भइसकेको छ । फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको गत असोज २० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ ल्याउने क्रममा बाटोमै २० गते रातिनै मृत्यु भएको थियो ।
मासु खाएर बिरामी भएका चार जनामध्ये कुम्मायक गाउँपालिका ३ का दिनेश खजुमको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।