दमक/केहि दिनदेखिको झरीले झापाको दमक बजार सुनसान जस्तै बनेको छ । सबैभन्दा धेरै व्यवसायिक कारोबार हुने सिजनका रुपमा लिइएको दशैंको सन्मुखमा भएको बर्षाका कारण व्यवसायिक कारोबार लगभग शुन्यको अवस्थामा रहेको कतिपय व्यवसायीहरुले बताएका छन् ।
दिनभरी पानी परेपछि बजारमा ओढा ओढेर बजार गर्न कसलाई पो हतार होला र ? – आज बिहान सम्म दमक बजारमा कारोबार सन्तोषजनक नभएको गुनासो पोख्दै दमकका व्यवसायीहरुले भनेका छन् ।
अघिल्ला बर्षहरुमा घटस्थापना अघिदेखिनै बजारमा लत्ताकपडा , किराना पसल तथा डिपार्टमेन्टहरुमा ग्राहकको चहलपहल बढ्ने गथ्र्यो । घटस्थापनासंगै फलफुल तथा तरकारी बजारमा समेत क्रेताहरुको घुँइचो लाग्ने गथ्र्यो ।

दमकको सिग्देल डिपार्टमेन्ट स्टोरका सञ्चालक समेत रहेका दमकका पुराना व्यवसायी लोकनाथ सिग्देलले झरी पर्नुअघि पनि दमक बजारमा उल्लेख्य चहलपहल हुन नसकेको बताए । सिग्देलले भने– सोह्र श्राद्धमै पनि व्यापार सन्तोषजनक थिएन दुई÷तीन दिनदेखिको पानीले त झनै व्यापार चौपट छ ।
जथाभावी राजश्व छलेर गरिने झोले व्यापारलाई नियन्त्रण नगरिदा आफूहरु जस्तो ठुलो लगानी गरेर र राज्यलाई कर तिरेर बैधानिक व्यापार गर्ने व्यवसायीहरु थप मर्कामा परेको सिग्देलको गुनासो छ । खाद्यन्न तथा किरानामा मात्रै नभएर लत्ता कपडा तथा अन्य फेन्सी आइटमको समेत व्यापारले गति लिन नसकेको व्यवसायीहरुको भनाई छ । दमक उद्योग वाणिज्य संघकी पूर्व कार्य समिति सदस्य समेत रहेकी दमकको रेमन स्टोरकी सञ्चालिका रेखा भट्टराई भन्छिन – दशैंका लागि किनमेल गर्नेको भिड लाग्न सकेन । उनी भन्छिन– दशैं त भित्रिसक्यो तर बजारमा ग्राहक भित्रिएका छैनन । व्यवसायीका लागि यस पटक नेता र मौसम उस्तै भए । दुवैले साथ दिएनन । उनले गत बर्षको तुलनामा यस बर्ष आधा पनि व्यापार हुन नसक्ने संकेत देखिएको बताइन् ।

दमकको देवकोटा चोकस्थित दमक किचन गुड्सका व्यवसायी तथा दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य ज्ञानु पौडेल दशैंको मुखमा आईपुग्दा पनि बजारमा चहलपहल नबढेको बताउँछन् । पौडेल भन्छन– झरी पानीको पनि असर होला , बजारमा ग्राहकको भिडभाड देखिदैन ।