पूर्व डीआईजीलाई भ्रष्टाचार मुद्धामा तीन वर्ष जेल सजाय

Author Nishkarsha News
२०८० पुष २५, बुधबार २०:०३

नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय भएको छ। मदन पुरस्कार विजेतासमेत रहेका साहित्यकार शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो।

विशेष अदालतले यसअघि नै भ्रष्टाचार मुद्दामा उनीसहित दुई जना दोषी ठहर गरिसकेको थियो।  बुधबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय निर्धारण गरेको हो।
क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाह र पूर्व प्रहरी नायब निरीक्षक (सई– लेखापाल) दीपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर भएका थिए।  शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ। १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो। उक्त रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला भएको हो।

यस्तै सोही प्रकरणमा पूर्व प्रहरी नायब निरीक्षक (सई– लेखापाल) दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद र १६ लाख ६९ हजार ४२ रुपैयाँ जरिवाना गरेको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्