दमक/नेपाल प्रहरी श्रीमती संघ र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगर बिच नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवालाई उपचार सेवामा २५प्रतिशत छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवँरको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कुँवर र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक ईन्दिरा शर्मा (बराल) बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
नेपाल प्रहरीका बहाल वाला कर्मचारीहरू तथा आश्रित परिवार सदस्यहरू (आमा, वुवा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरू) लाई उपचारको क्रममा बहिरङ्ग विभागमा उपचार गराउँदा बिरामी दर्ता निःशुल्क तथा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुटका साथै भर्ना भई उपचार गराउँदा समेत अन्तरङ्ग विभागमा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौतामा उल्लेख गरिएको छ । उपचारको क्रममा प्रयोग हुने औषधी र अन्य चिकित्साजन्यसामग्रीहरूमा भने छुट नहुने उल्लेख गरिएको छ ।


हाललाई १ बर्षको सम्झौता अवधी रहेकोमा पुन थप गर्दै लगिने समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले नेपाल प्रहरी श्रीमती संघलाई धन्यवाद दिनु हुँदै यस प्रकारको परोपकारी कार्यले श्रीमती संघको गरिमालाई थप उच्च बनाएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधीकारीहरु,नोवेल मेडिकल कलेजका कार्यकारी निर्देशक राजेश नेपाल तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box