दमक/ झापा ५ मा भएको नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बिहिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार महासमिति सदस्य (खुल्ला तर्फ ) युवा नेता हुकुमसिंह राई सर्वाधिक मत ल्याएर निर्वाचित भएका छन । उनी ३५४ मत ल्याएर विजयी भएका हुन ।

उनी कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यसअघि भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा समेत प्रथम स्थान ओगटदै निर्वाचित भएका थिए । सर्वाधिक मत ल्याएर विजयी बनेका युवा नेता राई कांग्रेसको कोशी प्रदेश समिति सदस्य समेत हुन । कमल गाउँपालिकाको अध्यक्ष समेत रहेका राईले कांग्रेस भित्रै पनि पटक पटक आन्तरिक निर्वाचनको सामना गरिरहेका छन ।

खुल्ला तर्फका कूल १० जना प्रतिस्पर्धी उम्मेदवारहरु मध्ये सुरेश शुब्बा र अर्का युवा नेता मेदनीप्रसाद सिटौलाले बराबर ३३८–३३८ मत ल्याएर दोश्रो स्थानमा विजयी भए । नेताद्धय सुब्बा र सिटौला यसअघि केन्द्रिय सदस्यको निर्वाचन सामना गरेका नेता हुन । दुवै नेताहरुले १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा चुनावी प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै अनिलकृष्ण प्रसाईंले ३२८ मत ल्याएर चौथो स्थान ओगटन सफल भए भने रोहित शाह ३२६ मतसहित पाँचौं स्थानमा महासमिति सदस्य निर्वाचित भए ।

सो निर्वाचनका अन्य प्रतिस्पर्धीहरु टिकाराज सापकोटाले ३१७, हेमन्त कार्कीले ३०५ , सत्यनारायण चौधरीले २८४ राजनबहादुर ढुुंगानाले २५८ मत प्राप्त गरेका छन भने अमरबहादुर बराईली कूल ७५ मत ल्याएर १० औं स्थानमा सिमित बने ।

यसअघि महासमिति सदस्य चुन्नका लागि गरिएका प्रयत्नहरु सफल हुन नसकेपछि नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

त्यस्तै खुल्ला महिला तर्फ नेतृ रेगिना भट्टराई प्रसाइँ ४७३ मत ल्याएर महासमिति सदस्य निर्वाचित भइन भने र लक्ष्मी बारकोटीले ४४८ मत ल्याएर जित हासिल गरिन । नेतृ प्रसाइँ दमक नगरपालिकाकी उपप्रमुख पनि हुन भने गौरादह निवासी बारकोटी नेपाल महिला संघकी केन्द्रिय सदस्य पनि हुन । खस आर्य महिला कोटामा दमककी मन्धरा चिमरिया पौडेल निर्वाचनकै सबैभन्दा धेरै ४९५ मत ल्याएर निर्वाचित भइन । उनले प्रतिस्पर्धी तुलसा पन्तलाई झण्डै तेब्बर मतान्तरले पराजित गरिन । त्यस्तै आदिवासी जनजाती ( पुरुष तर्फ) युवा नेता अइन्द्रविक्रम केरुङ ३९१ मत ल्याएर निर्वाचित भएका छन भने आदिवासी जनजाती महिला कोटामा नेतृ फुलवती राजवंशी ३६४ मतसहित निर्वाचित भएकी छन । राजवंशी गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष पनि हुन । खसआर्य पुरुष तर्फ डा. नेत्रबहादुर बुढाथोकी ३५८ मत ल्याएर निर्वाचित भएका छन ।

जनमतको अनुमोदन

महासमिति सदस्यको यसपटकको निर्वाचनमा वर्तमान र निवर्तमान जनप्रतिनिधिहरु देखिएका छन ।

एमालेको लालकिल्ला मानिने झापाको क्षेत्र नं ५ को भुगोलमा २०७४ र २०७९ मा एमालेको किल्ला तोडने कांग्रेसको लक्ष्य पूरा गरेका पाँच जना उम्मेदवारहरु मध्ये चार जना महासमितिमा निर्वाचित भए । कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, गौरादह नगरपालिकाका निवर्तमान नगर प्रमुख रोहितकुमार साह, दमक नगरपालिकाकी वर्तमान उपप्रमुख रेगिना भट्टराई , गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी समेत चारै जना सम्मानजनक मतसहित महासमिति सदस्यमा निर्वाचित हुनुलाई जनताको मत पार्टीमा अनुमोदन भएको मानिएको हो ।

Facebook Comments Box