दमक/ संविधानले परिकल्पना गरेका तीन तहका सरकार मध्ये नगरिकहरुको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारप्रति नागरिकहरुको आकांक्षाहरु असिमित छन । भौतिक पूर्वाधारको बिकासलाई मात्रै बिकास मान्ने आम चलन पनि छ ।
बिकासका अतिरिक्त नागरिकहरुले सरकारको आवश्यकता महसुस गर्ने भनेकै आपत विपत, दुख, बिराम र अप्ठयारो परिस्थितीमा हो । उमेर ढल्किँदै गएका बृद्धबृद्धाका लागि स्याहार सुसार र संरक्षकत्व अति आवश्यक पक्ष हो ।
यो यथार्थलाई आत्मसाथ गर्दै झापाको दमक नगरपालिकाले ल्याएको घरदैलो स्वास्थ्य सेवाले दमकमा विशेष महत्व र चर्चा पाएको छ ।
९० वर्ष माथिका बृद्धबृद्धा र क वर्गको अपाङगता भएका नगरबासीको अवस्था बुझ्न घर घरमा स्वास्थ्यकर्मीसहितको यो सेवा नगरपालिकाले दिन थालेको हो ।
आज (आइतबार) दमक –४ मा घर दैलो स्वास्थ्य सेवा कार्यक्रम लिएर नगरपालिका र वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु पुग्दा वडाबासीहरु खुशी भएका छन । शारिरीक अपाङगता भएकी १७ बर्षिया निशा कटुवालले हिंडडुल गर्न समस्या रहेको अवस्थामा घरमै आफनो स्वास्थ्य समस्याबारे डाक्टरसँग सेवा लिन पाउँदा खुशी भएको प्रतिक्रिया दिएकी छिन ।


९६ बर्षको उमेरमा ओछयानमै आफना प्रतिनिधि र डाक्टरहरुलाई देख्न पाउँदा तुलसामाया सिटौला पनि औधी खुशी देखिन्थिन । सोही वडाका ९२ बर्षिय गञ्जबहादुर कार्की, ९३ बर्षिया खाकुमाया धिमालले पनि घरमै आफना समस्या सुनिदिने मान्छे आएकोमा खुशी व्यक्त गरेका छन ।
दमक नगरपालिका का नगर प्रमुख रामकुमार थापा, वडाध्यक्ष पुण्य प्रसाद दाहाल , वडा सदस्य हुकुमचन्द्र बस्नेत, डा.परमानन्द पटेल, आधारभूत स्वास्थ्य केन्द्र –४ मा कार्यरत स्टाफ नर्स यमुना सिटौला, स्वास्थ्य सहायक सुमन खनाल लगायत दमक नगरपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुसहितको टोली सो वडाका विभिन्न टोलमा पुगेर स्वास्थ्य सेवा दिएको थियो ।


स्वास्थ्य सेवासँगै नगर भित्रका सबै टोल टोलका नगरबासीहरुसँग प्रत्यक्ष साक्षात्कार गर्न र अवस्थाबारे जानकारी लिनका लागि यो कार्यक्रमले महत्वपूर्ण टेवा मिलेको नगर प्रमुख राम थापाको सचिवालयले जनाएको छ ।
आइतबार यस किसिमको स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ लिएका वडाबासीको संख्या २६ रहेको दमक –४ का वडाध्यक्ष पुण्यप्रसाद दाहालले बताए । वडाध्यक्ष दाहालले पाउने भत्ता वापतको सुविधा रकमबाट विपन्न दिर्घरोगीहरुलाई नदोहोरिने गरी नगद १० हजार रुपैयाँ राहत सहयोग समेत दिदैं आएका छन ।
सोही वडाका बासिन्दा समेत रहेका नगर उपप्रमुख रेगिना भट्टराईका स्वकीय सचिव दिपेश दाहालले वृद्धबृद्धा तथा अपाङ्गता भएका नागरिकहरुको स्वास्थ्य जाँच गरी डाक्टरहरुको सिफारिस अनुसार आवश्यक औषधी साथै सहायक सामग्री (लठ्ठी) समेत वितरण गरिएको जानकारी दिए । उनले सोमबार पनि दमक ४ मै त्यसखालको सेवालाई निरन्तरता दिइने बताए ।
यसअघि दमकको १ नम्बर वडाबाट दमक नगर प्रमुख थापा र उपप्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा यो सेवाको शुरुवात गरेका थिए । हाल सम्म वडा नं १, २ र ३ नम्बर वडामा यो कार्यक्रम सञ्चालन भइसकेको छ भने यसबर्ष नगर भित्रका कम्तीमा ४५६ जनालाई घरदैलोमै स्वास्थ्य सेवा दिने नगरपालिकाको लक्ष्य छ । स्वास्थ्य सेवा अकस्मात आवश्यक पर्ने सेवा पनि हो , त्यसैले यसलाई र यत्तिलाई मात्रै भन्ने पनि हुँदैन अधिकतम सेवा दिनु स्थानीय सरकारको कर्तव्य हो , त्यसैअनुसार कार्यक्रम चलिरहेको छ–नगर उपप्रमुख भट्टराईले भनिन ।
असक्त भएका वृद्धबृद्धा र अपाङ्गता भएकाहरुका लागि आवश्यकता अनुसार दमक नगरपालिकाले एम्बुलेन्स सेवा नि शुल्क प्रदान गर्दै आएको छ ।

Facebook Comments Box