दमक/ गत आइतबार रातीदेखि चतरास्थित कोशी नदीको पूलमा आफनो चार पाङग्रे गाडी छोडेर एकाएक वेपत्ता भएका दमक १ का डा. प्रज्वल कोइराला अझै फेला पर्न सकेका छैनन ।
विराटनगरस्थित लाइफगार्ड अस्पतालमा कार्यरत डा. कोइराला वेपत्ता हुनुका पछाडी फार्मेसीमा कार्यरत एक युवतीसँगको प्रेम सम्बन्ध कारण हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले कोशीमा गोताखोर परिचालन गरेर डा. कोइरालाको खोजी गरेपनि अझै सम्म भेटेको छैन । प्रहरीले डा. कोइरालाको गाडी छोडिएकोस्थल र आसपासका सिसीफुटेजका आधारमा गरेको अनुसन्धानमा लामो समय मोवाइल फोनमा व्यस्त रहेको पाइएपछि कल डिटेल्स लगायतका प्रमाणका आधारमा एक जना युवतीसँग बयान पनि लिएको छ ।
सीसिफुटेज, मोवाइल कल डिटेल्स र ति युवतीसँगको बयान समेतलाई आधार मान्दा डा. कोइरालाले कसैसँगको प्रेम सम्बन्ध सफल हुन नसक्ने अवस्था महसुस गरेर कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने अनुमान लगाइएको प्रहरीको भनाई छ ।
सीसीटीभीको फुटेजले डा. कोइरालाले आत्महत्या गरेको हुनसक्ने देखाएपछि प्रहरीले आत्महत्याको कारण खोजी गर्दै जाँदा एकजना युवतीसंगको प्रेम सम्बन्ध भएको खुलेको हो । ति युवतीसँगको प्रेम सम्बन्ध सफल नभएपछि उनले कोशी नदीमा हामफालेको हुनसक्ने अनुमानलाई बल पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए ।
उनले आत्महत्याको धेरै कारण हुनसक्ने बताउँदै ति मध्ये एउटा कारण प्रेमसम्बन्ध पनि हुनसक्ने अनुमान गरिएको बताए । यद्यपी प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।