दमक/ प्रचलित कानुन बमोजिम बिद्यालयद्धारा प्रदान गरिएको १० प्रतिशत छात्रवृत्तीको विवरण उपलब्ध नगराउने इटहरी उपमहानगरपालिका भित्रका दुई वटा निजी बिद्यालयको सञ्चालन अनुमति स्थानीय सरकारले रद्ध गरेको छ ।
उपमहानगरले इटहरी ६ स्थित इटहरी चिल्ड्रेन स्कूल र वडा नं १० स्थित इटहरी नमुना स्कूलको सञ्चालन अनुमति रद्ध गरेको हो ।
शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम २५१ (२)मा व्यवस्था भए बमोजिम शैक्षिक सत्र २०८० मा संस्थागत बिद्यालयहरुलाई उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखामा बिद्यालयले प्रदान गरेको छात्रवृत्तीको विवरण उपलब्ध गराउन तीन पटक सम्म गरिएको पत्राचारलाई वेवास्ता गरेको भन्दै महाशाखाले आज आइतबार जारी गरेको सूचनामा ति बिद्यालयको अनुमति रद्ध गरिएको उल्लेख छ ।
गत जेठ २९, असार ११ र असार २१ मा गरी तीन पटक सम्म गरिएको पत्राचारलाई वेवास्ता गरेको र असार २९ को नगर शिक्षा समितिको निर्णय अनुसार तोकिएको जरिवाना समेत नबुझाएको कारण चालू शैक्षिक सत्रदेखि लागू हुने गरी ति बिद्यालयको अनुमति रद्ध गरिएको महाशाखाका उपसचिव सूर्यप्रसाद सुवेदीद्धारा जारी सूचनामा उल्लेख छ ।
यसअघि इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले यहाँ सञ्चालित सबै संस्थागत तथा निजी बिद्यालयहरुमा छात्रवृत्ती लागू गर्न निर्देशन गरेका थिए । उनले शिक्षा नियमावलीमा भएको व्यवस्था कार्यान्वयन नगर्ने छुट कसैलाई पनि नभएको चेतावनी दिदैं आएका छन ।