दमक/ रोजगारीको अवसर र पहिचान, बेरोजगारी समस्याको समाधान भन्ने नारासहित झापाको कमलमा पहिलो पटक यहि असार १६ गते वृत्ती परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ ।
नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीहरुबीच समन्वयकारी भुमिका निर्वाह गर्न मद्धत पुरयाउने उद्धेश्यले कमल गाउँपालिकाको आर्थिक सहयोगमा कमल उद्योग वाणिज्य संघले आयोजना गर्ने मेलाका बिषयमा गाउँपालिकाले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
हेल्भटास नेपालको प्राविधिक सहयोग रहने सो मेला केर्खामा रहेको केर्खा खैलामैदानमा बिहान ९ बजेदेखि ३ बजे सम्म सञ्चालन हुने जनाइएको छ । मेलामा गाउँपालिकाको रोजगार शाखा, गाउँपालिकामा सञ्चालित प्राविधिक शिक्षालय, गाउँपालिकाका उद्यमी व्यवसायीहरुले उत्पादन गरेका उत्पादनहरु लगायतको स्टल रहने जनाइएको छ ।
त्यहाँ रोजगारको खोजीमा रहेका र प्राविधिक धारको बिषय पढन चाहने बिद्यार्थीहरुलाई राज्यका तर्फबाट उपलब्ध हुने सेवा सुविधा लगायतका बिषयहरुको बारेमा समेत जानकारी गराइने पत्रकार सम्मेलनमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकाबासीलाई यो मेलामा सहभागी भएर आवश्यक जानकारी लिन आव्हान गरे । उनले कमलमा पहिलो पटक यस किसिमको मेला आयोजना भएकाले यसको विशिष्ट महत्व रहने पनि उल्लेख गरे ।
गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले रोजगारका अवसरहरुको बारेमा सुसुचित गराउने मुख्य लक्ष्यसहित स्थानीय उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि समेत यो मेला सहयोगी बन्ने विश्वास व्यक्त गरिन् । हेल्भटास नेपालका रामअवतार यादवले सीप सिक्न चाहने र आत्मनिर्भर बनाउने काममा यसले सहयोग पुरयाउने बताए । सो मेलाको उदघाटन जिल्ला समन्वय समिति झापाका संयोजक विश्व बरालले गर्ने जनाइएको छ ।
दमकमा सम्पन्न
त्यसैगरी दमकमा आयोजित सोही प्रकृतिको मेला बिहिबार सम्पन्न भएको छ । मेलाको उदघाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए । थापाले निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकारले धेरै कामहरु गर्न चाहेको बताए ।
उपप्रमुख रेगिना भट्टराईले दमकमा स्थानीय उत्पादित बस्तुहरुको बजारीकरणमा यसले ठुलो मद्धत पुगेको बताइन् । उनले दमकमा नगरपालिकाले कोशेली घर सञ्चालनमा ल्याएर स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताइन् । उनले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको पनि उल्लेख गरे ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष राजु खडकाको संयोजकत्वमा र प्रथम उपाध्यक्ष राजकुमार योङयाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

Facebook Comments Box