माओवादीले सरकार छाडेपछि अल्पमतमा परेका कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिदिन सूचित गराएका हुन् ।
मत पाउनेमा कार्की ढुक्क
विश्वासको मत पाउनेमा मुख्यमन्त्री कार्की ढुक्क देखिएका छन् । बुधबार नेकपा एमाले संसदीय दलको बैठक सहभागी हुने क्रममा पत्रकारसँग कुरा गर्दै उनले आफूले विश्वासको मत लिने बताएका हुन् ।
विश्वासको मतोलागि भोली नै समय तय गरिएको कार्कीले जानकारी दिए । आफूले विश्वासको मत नपाउने भन्ने सम्भावना नै नभएको बताएका कार्कीले अहिलेसम्म एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत पक्षमा हाल्ने निर्णय गरेको र भोलीसम्ममा अन्य दलहरू मध्येको कोही विश्वासको मत दिन तयार हुने कार्कीले बताए । गठबन्धन दलका नेताहरू एक भएको र विश्वासको मत प्राप्त गर्न नदिने निर्णय गरेको बारेमा पत्रकारले सोधेको प्रश्नमा मुख्यमन्त्री कार्कीले त्यहाँ एक दुई दल बाहेक अरू दलको नेता नै नभएको स्पष्ट पारे । उनले अहिलेको अवस्थामा विश्वासको मत प्राप्त गर्न कुनै समस्या नहुने पनि बताएका छन् ।
अंकगणित
कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । सत्तारुढ एमाले र राप्रपाबाहेकबाट १ मत पाउन नसके कोशी सरकार ढल्नेछ । ९३ जना प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । कांग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको लागि पहल गरिरहेको छ ।
नेतृत्व लिने भन्नेमा अन्योल
यदि मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए वा राजीनामा दिए नयाँ सरकार नेतृत्व कसले गर्ने भन्ने अन्योल छ । कांग्रेस र माओवादी आलोपालो नेतृत्व लिनुपर्ने पक्षमा छन् तर पहिले आफैँले सरकारले चलाउनुपर्ने दाबी दुवै दलले गरिरहेका छन् ।
कांग्रेस र माओवादी दुवै दलले आ-आफ्नो पार्टीका शीर्ष नेताहरूलाई सरकारको नेतृत्वका लागि दबाब दिइरहेका छन् । कांग्रेसका सांसदले पार्टी सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता र माओवादीका सांसदले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटिसकेका हुन् । मकालु खबरबाट