दमक / १ असारदेखि आएको बाढी, पहिरोमा परेर कोशी प्रदेशमा तीन जनाको मृत्यु भएको छ । ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार आइतबार साँझसम्ममा पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको उनले बताए । अन्य तीन जनाको भने उद्धार गरिएको छ । उनका अनुसार पाँचथरमा मात्रै एक जनाको मृत्यु र पाँच बेपत्ता छन् । जिल्लामा १२ वटा पुलमध्ये केही बगाएको र केहीमा ठूलो क्षति पुर्याएको छ । यस्तै, छ वटा घर बगाएको र दुई जलविद्युत आयोजनामा क्षति पुगेको छ । यस्तै, सङ्खुवासभामा भने एक जनाको मृत्यु भएको र अन्य २१ जना सम्पर्कविहीन रहेका छन् । त्यहाँबाट तीन जनाको उद्धार गरिएको पनि कडायतले बताए ।
सङ्खवासभामा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले दिएको जानकारी अनुसार बेपत्ता भएकामध्ये १७ जना त्यहाँको सुपर हेवाखोला जलविद्युत आयोजनाका कर्मचारी छन् । अन्य चारजना भने सर्वसाधारण हराइरहेका हुन् । यस्तै, ताप्लेजुङमा एकको मृत्यु र तीनजना बेपत्ता रहेका छन् । ताप्लेजुङको खेवाङ ७ मा तेजेन्द्र सापकोटाको घर डुवानमा पर्दा २ वटा भैंसी र खेमराज गौतमका ८ वटा खसी एउटा गाई पहिरोमा मरेका छन ।
खेमराज गौतम , पुर्णबहादुर तुम्याङ्ग , मोतिमायाँ साम्यु ,सन्देश साम्यु , ताराबीर कामी , केशव अधिकारी , ईन्द्रप्रसाद दाहाल , धनबहादुर गौतम , कमल गौतम , चैतन्य गौतम , बरबोटे गाउँ लगायत ७ र ९ का एक दर्जन भन्दा बढी घरपरिवार जोखिममा परेका स्थानीयलाई उद्धृत गर्दै खबर बाहिर आएका छन । खेवाङ्गमा बिकासका पुर्वाधारमा (जल विद्युत , सडक , खानेपानी , मोटर पुल ) अथाह नोक्सान भएको बताइएको छ ।
इलाममा पनि पहिरो गएको र जनजीवन प्रभावित भएको बताइएको छ ।