स्थानीय सरकारको नीति निर्माण तहमा पहिलो पटक संविधानले दलित महिलाहरुको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेपछि विशेष गरी दलित महिलाहरुलाई अहिले समाजको मात्रै होइन सरकारकै नीति निर्माण प्रकृयामा अनिवार्य सहभागी गराउने अभ्यास शुरु भएको छ ।
दुई बर्ष अघि भएको स्थानीय तहको निर्वाचनमा झापाको दमक नगरापलिका वडा नं ५ बाट निर्वाचित दलित महिला सदस्य हुन ख्यामकुमारी परियार ( सरु) । उनी मात्रै होइन दमकका १० जना दलित महिला सदस्यहरुले जननिर्वाचित भई संविधान प्रदत्त अधिकारको सदुपयोग गर्ने अभ्यास गरिरहेका छन् ।
दलित समुदायलाई संविधानप्रदत्त अधिकारहरुको बारेमा वकालत गर्ने, समाजमा सम्मानजनक रुपमा बस्ने वातावरणको लागि सरकारले सो समुदायको सशक्तिकरणका लागि बजेटकै व्यवस्था गर्ने पनि अख्तियारी स्थानीय तहलाई दिएको छ ।
प्रस्तुत छ यसको कार्यान्वयनको अवस्था, दलित महिला जनप्रतिनिधिहरुका साझा समस्या, जनप्रतिनिधिका रुपमा दुई बर्षको अनुभव लगायतका बिषयमा केन्द्रित भएर निष्कर्ष न्यूजका लागि कार्यकारी सम्पादक विष्णु पौडेलले गरेको कुराकानी –

जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछिको २ बर्ष कसरी विताउनु भयो ?

हुन त म र मेरो परिवारनै त्यस्तो राजनीतिक पृष्ठभुमी भएको परिवार होइन । सामान्य घर गृहस्थी जिवन विताईरहेको परिवारकी सदस्य हुँ म । राजनीतिक रुपमा हामीले आस्था राखेको पार्टीले मलाई पनि स्थानीय चुनावमा वडामा चुनाव लड्ने अवसर दियो । त्यो अवसरलाई सदुपयोग गरौं भन्ने लाग्यो । आम वडाबासीले मलाई मतदान गरेर जिताउनु भयो । जे भएपनि समाजमा सम्मानपूर्वक स्थापित हुने मौका भयो ।
उहाँहरुले जाहेर गर्नुभएको मतलाई सम्मानपूर्वक लिएको छु । विशेषत वडामा दैनिक जसो एक पटक आउने गर्छु । कहिले कांहि आवश्यक बैठक, छलफलहरु पनि हुन्छ । वडाका विभिन्न ठाउँमा कार्यक्रमहरु आयोजना गरिएका हुन्छन आवश्यकता र निम्तोका आधारमा त्यसलाई स्वीकार्ने गरेको छु ।

महिलाहरुलाई जनप्रतिनिधि भएर जिम्मेवारी निर्वाह गर्न चाहिं कतिको गाह्रो रहेछ ?

गाह्रो त गाह्रो नै हुँदो रहेछ । हिजोका दिनमा हामीले आफ्नो घर परिवार आफन्त मात्रै खुशी राख्नु पथ्र्यो भने अहिले घर परिवारसंगै आम जनताको काम पनि भ्याउनु पर्छ । जनतालाई पनि खुशी पार्नुपर्ने जिम्मेवारी र दायित्व हाम्रो काँधमा आईपरेको छ । स्वभाविक रुपमा गाह्रो त हुन्छ नै ।
दलित महिलाहरु अझै अधिकारको सदुपयोग गर्नबाट बञ्चित छन भन्ने गुनासाहरु छन यथार्थमा कस्तो अवस्था छ दमकमा ?
हाम्रो वडामा चाहिं मैंले त्यस्तो अवस्था खासै देखेको छुइँन । तर आम रुपमा भन्ने हो भने चाहिं स्थानीय तह, प्रदेश र संघीय सरकारले हाम्रो समुदायका लागि जुन रुपमा प्राथमिकता दिनुपर्ने हो त्यो पूर्णरुपमा अझै नदिएको महसुस हामीले गरिरहेका छौं ।
कतिपय ठाउँहरुमा दलित, गैह्रदलित महिलाहरु उपस्थितीका लागि मात्रै उपस्थित भईरहेको पाईन्छ । त्यो राम्रो होइन । म आफू चाहिं संविधानले दिएको अधिकारका कुराको अधिकतम उपयोग गरेर समुदायलाई सशक्तिकरण गर्ने कुरामा लागेको छु ।

तपाइँको अनुभवमा वडामा महिलाहरुको अवस्था के छ ?

हाम्रो वडा शहरी क्षेत्र भएको वडा हो । यहाँ सघन बसोबास रहेकाले यहाँ धेरै आमा, दिदी बहिनीहरु हुनुहुन्छ । स्वभाविक रुपमा धेरै जना भएका ठाउँमा केही न केही समस्याहरु त छन नि तर पनि हाम्रो वडामा कोही पनि महिलाले आम रुपमा चाहिं त्यस्तो कुनै समस्या भोग्नु परेको वा पीडित हुनुपरेको अवस्था छैन ।
महिलाहरु एकाध घर परिवारकै कारण सामान्य वादविवाद, झै झगडा भएका कुराहरु कहिले कहिं हाम्रो वडामा पनि आउने गर्छन , वडामा रहेको मेलमिलाप समितिले त्यस्ता बिषयहरुमा छलफल गराई न्यायसहितको मेलमिलाप गराउन भुमिका निर्वाह गर्ने गरेको छ । बेरोजगार, आर्थिक विपन्नता जस्ता समस्या पनि छन् । तर संविधानप्रदत्त कसैको अधिकार खोसिएर कोही पीडित भएर हिडिंरहेको अवस्था चाहिं छैन ।

दलित समुदायका लागि तपाइँको वडाले के कस्ता कार्यक्रमहरु ल्याएको छ ?

हामीले यस बर्ष दलित समुदायको सशक्तिकरणलाई पनि प्राथमिकता दिएका बजेट तथा कार्यक्रम बनाएका छौं । मलाई लाग्छ दलित समुदायका लागि हाम्रो वडाले नगरका सबै वडाहरु मध्ये सबैभन्दा धेरै बजेट विनियोजन गरेर कार्यक्रमहरु बनाएको छ ।
हामीले दलित लक्षित कार्यक्रमका लागि अढाई लाख रुपैयाँको हाराहारीमा बजेट विनियोजन गरेका छौं । यसको अधिकतम सदुपयोगका लागि हामीले केही सीपमूलक कार्यक्रमहरु छनोट गर्दैछौं । बरु संख्यात्मक रुपमा कम्तिनै होस गुणात्मक रुपमा कार्यक्रमलाई उपलब्धीमूलक बनाउने हाम्रो योजना छ ।

दमकमा महिला जनप्रतिनिधिहरु पुरुष जनप्रतिनिधिका कारण कुनै समस्यामा पनि रहनु भएको छ कि ?

स्वभाविक रुपमा महिला जनप्रतिनिधिहरुले अपेक्षाकृत भुमिका निर्वाह त गर्न पाउँदैनौं । हाम्रो नगरपालिका वोर्डदेखि वडाहरुमा समेत महिलाहरुको नेतृत्व छैन । प्रतिनिधित्व मात्रै छ । कर्मचारीसाथीहरु पनि अधिकरुपमा पुरुषनै हुनुहुन्छ ।
त्यसो भईसकेपछि हामी पूर्ण छौं त भन्न सकिन्न । त्यस्तो पूरै विभेदको अवस्था चाहिं छैन । त्यस्तो भएको भए केही न केही कुराहरु बाहिर आउथ्यो होला भन्ने लाग्छ ।

जातीय विभेदका घट्नाहरु वडामा कत्तिको पाउनु हुन्छ ?
हाम्रो वडा एक शिक्षा र चेतनाका हिसाबले अग्रपंक्तिमै आउने वडा हो । त्यसैले यहाँ सार्वजनिक रुपमा जातीय विभेदका घट्नाहरु भएका छैनन भने पनि हुन्छ । कतिपयका घर भित्र नगण्य रुपमा अरु कुनै निहुँ वा विशेष कारणले आपसी विवादका घट्नाहरु भएका होलान । छिटफूट रुपमा तर कार्यालयमै आईपुग्ने किसिमका घट्ना यहाँ छैनन् ।

तपाइँको कार्यकालमा तपाइँको समुदायलाई कुन रुपमा अघि बढाउनु हुन्छ ?

जहाँ सम्म मेरो कार्यकालको कुरा छ म आफ्नो समुदायका लागि विशेष प्रतिनिधिका रुपमा वडामा निर्वाचित भएर आएकी हुँ ।
संगसंगै सिंगो वडाका लागि पनि म प्रतिनिधि हुँ । जनताले जुन विश्वास गरेर मलाई यो अवसर दिनु भएको छ यसलाई मैले अवसरसंगै जिम्मेवारीका रुपमा पनि लिएको छु । म इमान्दारपूर्वक यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।

Facebook Comments Box