दमक/ कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनरत पहिचानवादीहरुको समुहले दमकमा आज निकालेको मसाल जुलुशमा सहभागी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित सुरक्षाकर्मीतर्फ १० जना घाईते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

सुरक्षाकर्मी तर्फ १० जना घाईते भएका छन सबैको उपचार जारी छ । प्रदर्शनकारीतर्फ २ जना घाईते भएको सुन्नमा आएको छ विस्तृत विवरण बुझने काम भइरहेको छ– प्रवक्ता रिजालले निष्कर्ष न्यूजसँग भने ।

प्रदर्शनकारी तर्फ प्रहरीले चलाएको गोली लागेर दिक्षा क्षेत्री र गजेन्द्र फागो गम्भिर घाईते भएका किराँत राई बिद्यार्थी झापाका नाममा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । एक जनाको घुँडामा गम्भिर चोट लागेको तस्विर फेसबुकमार्फत बाहिर आएको छ ।

साँझ पख दमकको पश्चिम बस स्टेण्डबाट गणतन्त्र चोक तर्फ प्रदर्शनकारीहरु ठुलो संख्यामा निस्किएपछि जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो । त्यसक्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीहरुले बोकेको आगोको राँको खोस्न खोज्दा झडपको स्थिती बनेको थियो । झडपका क्रममा आन्दोलनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगा, लाठी आदी प्रहार गरेका थिए भने सुरक्षाकर्मीले हवाइफायर गर्नुका साथै केही सेल अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर बनाउने प्रयास गरेको थियो । अश्रुग्याँसको असर दमक चोक आसपासका होटल तथा पसलमा बसेका व्यवसायी र सर्वसाधारण सम्म परेको छ । अश्रुग्याँसका कारण आँखा पोलेको उनीहरुले बताएका छन । सो क्रममा मुख्य राजमार्गमा गुडि रहेका सवारीसाधनहरुलाई प्रदर्शनकारीले अवरोध गरे पछि भिड तितरवितर भएको थियो । त्यस क्रममा एक ट्रक तथा सिटी सफारीमा तोडफोड समेत भएको सुरक्षा श्रोतले जनाएको छ । यसैगरि झडपमा सुरक्षाकर्मी र प्रदर्शनकारीका केहि घाईते भएका छन् । मशाल जुलुश शुरु हुनु अघि देखिनै दमकको गणतन्त्र चोकमा जनपथ तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिती रहेको थियो ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोज लामाले प्रदर्शनकारीहरुसँगको झडपको स्थिती सामान्य बनिसकेको संकेत गर्दै घाईतेहरुको उपचारका सिलसिलामा अस्पतालमा भएका कारण केहीबेर पछि यसबारेमा थप जानकारी दिने बताएका छन ।

Facebook Comments Box