दमक/ नेकपा एमाले सम्बद्ध नेपाल उद्योग व्यवसायी महासंघको १२ औं स्थापना दिवस दमकमा मनाइएको छ । महासंघको दमक नगर कमिटीले स्थापना दिवस केक काटेर शुभकामना आदनप्रदानसहित मनाएको छ ।
सो पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले राष्ट्र बैंकले विश्व बैंक, एशियाली बिकास बैंक लगायतसँग २ प्रतिशतमा लिएको ऋण बैंकहरुले ठुलो दोब्बर तेब्बर भन्दा बढी असुलेर व्यवसायी तथा सर्वसाधारणलाई मर्कामा पारिरहेको बताए ।
उनले राजनीतिक दलको उच्च नेतृत्व समेतसँगको सहकार्य र समन्वयमा सरकारले नीतिगत रुपमानै यो समस्याको हल गर्न बैधानिक बाटोबाटै व्यवसायीहरुले दबाबको सिर्जना गर्न सुझाव दिए । अध्यक्ष कार्कीले बैंकहरुले व्यवसायीहरुलाई शुरुमा शर्त गरेको भन्दा बढी ब्याजदरको भार थोपरेर अन्याय गरेको बताउँदै बैंकहरुको यस्तो कृयाकलापको खुलेर विरोध गर्न आवश्यक रहेको पनि सुझाए । बैंकहरुको गलत र जनतामारा नीतिको असर राज्य सत्ता र व्यवस्थाप्रतिनै परिरहेको बताउँदै अध्यक्ष कार्कीले यसलाई रोक्न आफनो तहबाट माथिल्लो निकाय सम्म यस बिषयमा कुराकानी गरिरहेको उल्लेख गरे ।

समानुपातिक प्रणाली र थ्रेस होल्डबारे कार्कीले के भने ?

संविधान सभा सदस्य समेतको भुमिका निर्वाह गरेका एमाले नेता कार्कीले निर्वाचनमा समानुपातिक प्रणालीनै हटाउनु पर्ने औंल्याए । उनले भने– यो समानुपातिक सिस्टमले अनेकका साना, मसिना दलहरुलाई उक्साउने काम गर्यो, यिनीहरुका कारण एउटा सिटले पनि सरकार ढाल्ने, ढल्ने स्थिती बनायो ।
यसले अस्थिरता बढयो, विकृती मौलायो वास्तवमा यो समानपातिक भन्ने सिटनै हटाउनुपर्छ । सबै प्रत्यक्ष चुनाव लडेर मात्रै आउने व्यवस्था हुनुपर्छ । उनले थपे– थ्रेसहोल्ड प्रतिशत कम्तीमा ६ राख्नु पर्छ । तीन प्रतिशत अब हटाउनु पर्छ ।
अध्यक्ष कार्कीले प्रदेश संरचनाको बिषयमा अहिले सामाजिक सञ्जालहरुमा हेर्दा धेरै मानिसहरु यसको विपक्षमा देखिएको बताउँदै संघीयतामा प्रदेश संरचना बिनैपनि सोझै जनतालाई अधिकार सम्पन्न बनाउन सकिने संकेत गरे ।
महासंघका नगर कमिटी अध्यक्ष रमेश लुइँटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा महासंघका कोशी प्रदेश अध्यक्ष गणेशबहादुर बस्नेत, नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष गेहनाथ पोखरेल, महासंघका प्रदेश कमिटी उपसचिव प्रकाश प्रसाद अधिकारीले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य अम्बिका खनाल, नगर कमिटी उपाध्यक्ष एवं दमक ८ का वडाध्यक्ष दिपेश दाहाल, महासंघका निवर्तमान नगर कमिटी अध्यक्ष विमल खतिवडा, युवा संघ नेपालका नगर कमिटी अध्यक्ष विवेक भट्टराई लगायत व्यवसायी नेता, कार्यकर्ताहरुको प्रतिनिधिमुलक उपस्थिती रहेको थियो ।

Facebook Comments Box