दमक/ कुमार लिङदेनको नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजन भएको छ । पछिल्लो समय कोशी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको सो मञ्चका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङको नेतृत्वमा भएको मञ्चको तेस्रो महाधिवेशन धरानमा सम्पन्न गर्दै सो समुह नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण भएको हो ।
धरानमा भएको तेस्रो महाधिवेशनपछिको विवादका कारण अध्यक्ष कुमार लिङ्देनलाई कार्वाही गर्दै रञ्जीता श्रेष्ठ अध्यक्ष रहेको उन्मुक्ति पार्टीसँग एकता गरेको हो ।
लिङ्देनलाई कार्वाही गरेर मञ्चको अध्यक्ष घोषित भएका गुरुङ, महासचिव अशोक चेम्जोङसहितका नेता तथा कार्यकर्ताहरू सो मञ्च नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण भएको दाबी गर्दै समाहित भएका हुन ।
सोमबार विराटनगरमा आयोजित एकता घोषणा कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्षहरु इन्दिरा मेन्याङ्वो, एबी तुम्वाङ र दिलकुमार लावती, प्रान्तीय महासचिव शेसोहाङ चोङवाङलगायत जिल्ला अध्यक्षहरू पनि सहभागी थिए ।
पहिचान पक्षधरको बृहत शक्ति निर्माण गर्न पार्टी एकीकरण गरेको गुरुङले बताएका छन । पार्टी एकीकरणले पहिचान पक्षधरहरू बलियो भएको उनको भनाइ छ ।
नागरिक उन्मुक्तिसँग एकीकरण गरेको मञ्चको असन्तुष्ट समूहले वैशाख १२ गते बैठक बसेर अध्यक्ष लिङ्देनलाई पदमुक्त गरेको भन्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ । वैशाख १७ गते निर्वाचन आयोगमा दिइएको निवेदनमा कुमार लिङ्देनलाई पदच्युत गरेको र लिङ्देनको स्थानमा ज्ञानबहादुर गुरुङलाई अध्यक्ष बनाएको दाबी गरिएको छ ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको धरानमा भएको तेस्रो महाधिवेशनपछि विवाद सुरु भएको थियो । विवाद बढेपछि अध्यक्ष लिङ्देनले ८ जनालाई ४ महिनाअघि कारबाही गरेका थिए । लिङ्देनले भने एउटा समूह पार्टीबाट चोइटिएर गएको दाबी गरेका छन् ।
मञ्चसँगै दिनेशचन्द्र राजवंशी नेतृत्वको कोचिला संयुक्त संघर्ष समिति, दामोदर पाण्डे नेतृत्वको नागरिक सशक्तिकरण लागि जागरण अभियानले पनि नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठ र मञ्चका अध्यक्ष गुरुङले पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

पार्टी एकीकरण गर्ने विषयमा तत्कालीन अध्यक्ष कुमार लिङ्देनले नमानेपछि ५१ प्रतिशत केन्द्रीय सदस्यहरूको समर्थनमा नयाँ नेतृत्व चयन गरेर १० बुँदे सहमति गर्दै पार्टी एकीकरण गरिएको गुरुङले बताए । पार्र्टीको नाममा भने सहमति भइनसकेको उनको भनाइ छ । नागरिक उन्मुक्ति पार्टीमा ६९ जनाको केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारी बनाइने बताइएको छ । जसमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, महसाचिव ३ जना, सचिव ७ जना र सहसचिव ३ जना रहनेछन् । पार्टीले आलाङ्कारिक राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा ल्याएको छ ।

 

Facebook Comments Box