दमक/ दमक उद्योग वाणिज्य संघले नयाँ वर्ष –२०८० को क्यालेन्डर सार्वजनिक, शुभकामना आदानप्रदान तथा नवनिर्वाचित केन्द्रीय सदस्य गोकुल श्रेष्ठलाई सम्मान कार्यक्रम गरेको छ ।
सोमबार औपचारिक कार्यक्रमका बीच संघले नियमित रुपमा प्रकाशन गर्दै आएको बार्षिक भित्ते पात्रो सार्वजनिक गर्नुका साथै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित संघका निवर्तमान अध्यक्ष श्रेष्ठलाई स्वागत सम्मान गरेको हो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर प्रमुख थापाले दमकको विकास निर्माणका योजनाहरु क्रमिक रुपमा अघि बढिरहेको बताउँदै निजी क्षेत्रसँगको सहकार्य पनि अपरिहार्य भएकोमा जोड दिए ।
उनले दमकका सडकभित्रका बिजुलीका पोल र बाक्लो गरी जडान गरिएका तारहरु एक महिनाभित्रमा हटाई सक्ने, सहरभित्र अस्तव्यस्त रहेका सवारी साधनहरुलाई व्यवस्थित गरिने, नगरभित्रका बाटाहरु जेष्ठ मसान्तभित्र कालोपत्रे गरिसक्ने योजना रहेको बताए । उनले सबै व्यवसायीहरुलाई करको दायरामा आउन र नगरमा दर्ता नभएका व्यवसायीहरुलाई दर्ताको दायराभित्र आउन समेत आग्रह गरेका छन् ।
महासंघका केन्द्रीय सदस्य श्रेष्ठले महासंघ ठुला घरानाको मात्रै नभएर साना व्यवसायीहरुको पनि साझा संस्था हो भन्ने अपनत्व हुनेगरी काम गरेर आफ्नो कार्यकाल सफल बनाउने बताएका छन् ।
यसैगरी आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख लवकुमार अधिकारी, व्यवसायी विक्रमकुमार शाह, पूर्वलेखा समिति संयोजक खोमप्रसाद बगाले, इलाका प्रहरी कार्यालयका प्रमुख मनोजकुमार लामा, दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय बराललगायतले दमकेली व्यवसायीहरुका समस्या महासंघसम्म पुरयाउन नवनिर्वाचित केन्द्रीय सदस्यको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे ।
दमक उद्योग वाणिव्य संघका अध्यक्ष गोपाल गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजकुमार योङ्याले सञ्चालन गरेका थिए । सो अवसरमा क्यालेन्डरको प्रकाशन समितिका संयोजक टिकाराम खतिवडाले क्यालेण्डरको महत्व माथि स्पष्ट पारेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, द्धितिय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी, महिला उपाध्यक्ष सुष्मा निरौला, लेखा संयोजक नेत्र चौलागाई, वस्तुगत व्यवसायिक प्रतिनिधिहरु राम रिमाल, राजिव पूर्वे, रामचन्द्र बराल, पूर्वकार्यसमिति सदस्य भेषराज धमला, रेडक्रस प्रतिनिधि मैना दाहाल, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम , दमक जेसीजका अध्यक्ष मुकेश अग्रवाल, असहाय मानव सेवा समाजकी अध्यक्ष सजु बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।