दमक/ वैदेशिक रोजगारीमा व्यक्तिगत रुपमा जाने र पुनः श्रम स्वीकृति लिनेहरुको श्रम स्वीकृतिको आवेदन पालिकामा नै गर्न सकिने व्यवस्था मिलाइएको छ ।
पालिकास्तरमा रहेका रोजगार सेवा केन्द्रले नै सो आवेदन फारम भरिदिने व्यवस्था मिलाउने गत चैत्र १६ गतेको प्रधानमन्त्री तथा श्रम तथा रोजगार मन्त्रीस्तरीय निर्णय अनुसार १ वैशाखादेखि सेवा प्रवाह गर्न शुरु गरिएको पालिकाहरुले जनाएको छ । झापाको गौरीगञ्ज गाउँपालिकाले सूचना प्रकाशित गरेरनै व्यक्तिगत श्रम स्वीकृति पुनः श्रम स्वीकृतिको आवेदन दिन सकिने जनाएको हो ।
अनलाइन प्रणालीबाट आवेदन दिनु पर्ने हुँदा विभिन्न श्रम कार्यालय अघिल्तिर रहेका साइबर र बिचौलियाहरुबाट श्रमिक ठगीमा परेको भन्दै रोजगार सेवा केन्द्रबाट नै आवेदन भरिदिने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।
यो व्यवस्था गरेसँग अब वैशाख १ गतेदेखि देशभरका ७५३ वटै पालिकामा रहेका रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृतिको आवेदन दिन सकिन्छ । संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृतिको आवेदन म्यानपावर कम्पनीले नै आवेदन गर्ने भए पनि व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर पहिलो पटक वैदेशिक रोजगारीमा जाने र पुनः श्रम स्वीकृति लिनेहरु आफैँले अनलाइन आवेदन दिनु पर्नेछ ।
कयौँ श्रमिक इन्टरनेटको पहुँच, सूचना प्रविधिबारे ज्ञानको अभाव लगायत विविध कारणले अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिनकै लागि मोटो रकम बुझाउन बाध्य भइरहेका बेला गरिएको यस्तो व्यवस्थाले सर्वसाधारणले लाभ लिन सक्नेछन ।
पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाट नै प्रदान हुन्छ । श्रम स्वीकृति लिनका लागि श्रम तथा रोजगार कार्यालयहरुमा धाउन र लाइन लाग्न पर्दैन । विदेशबाट नेपाल आउन पनि पर्दैन ।
विदेशमै रहेका नेपालीले आफैँले अनलाइनबाट र कुनै समस्या भएमा त्यहाँ रहेको नेपाली नियोगको सहायतामा श्रम स्वीकृति लिन सक्छन् । दूतावासबाटै पनि श्रम स्वीकृति लिन मिल्ने व्यवस्था मन्त्रालयले यसअघि नै गरिसकेको छ । अनलाइनबाट आवेदन दिएपछि अनलाइनमार्फत नै श्रम स्वीकृतिको निस्सा प्राप्त हुन्छ ।
रोजगार सेवा केन्द्रका कर्मचारीलाई अनलाइन प्रणाली र आवेदन दिने प्रक्रियाबारे तालिम दिएरनै सरकारले यो सेवा सूचारु गरेको हो ।
