दमक/ दमक बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा उम्मेदवारी दिएको सोविन न्यौपाने नेतृत्वको टिमका उम्मेदवारहरु र सो टिमको संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । बुधबार क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रमका बीच टिमका तर्फबाट सभापति पदका उम्मेदवार न्यौपाने, सचिव पदका उम्मेदवार दिपक लिम्बु , कोषाध्यक्ष पदका उम्मेदवार रविन अधिकारीसहित सदस्य पदका उम्मेदवारहरुले संयुक्त रुपमा सो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन ।
न्यौपाने नेतृत्वको सो टिमबाट कार्यसमिति सदस्यहरुमा हेमन्त सिटौला, हिमान्सु जयसवाल, रविना प्रसाइँ,सायन साम्पाङ,सन्दिप खडका, कैलाश राई, सविन गौतम र देवेन्द्र पौडेल उम्मेदवारका रुपमा रहेका छन ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै न्यौपानेले निरन्तर बिद्यार्थीहरुको सुखदुखमा साथ दिन आफूले बिद्यार्थीहरुको नेतृत्व लिने तयारी गरेको बताए । उनले ५ चैत्रमा हुने स्ववियु निर्वाचनमा बिद्यार्थीहरुले काम गर्न सक्ने सक्षम , सवल र सच्चा बिद्यार्थी नेतृत्वको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे । उनले क्याम्पसमा चुनाव आउँदा राजनीति गर्नैका लागि बिद्यार्थी भएका उम्मेदवार र वास्तविक रुपमै बिद्यार्थी रहेर बिद्यार्थीको हक अधिकारका लागि नेतृत्व लिन खोज्ने समुहको पहिचान बिद्यार्थीहरुले गरिसकेको उल्लेख गरे ।
सो अवसरमा नेपाली कांग्रेस निकटको नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई सभापति अतित वान्तवाले बिद्यार्थीहरुमाझ परिचित र सधै बिद्यार्थीहरुको सुखदुखको सारथी बनेका सोवित न्यौपाने दमक बहुमुखी क्याम्पसको स्ववियुका लागि निर्विकल्प नेतृत्व भएको बताए । सभापति वान्तवाले सबै किसिमका भ्रम र चरम राजनीतिक गुटबन्दीको प्रभावबाट मुक्त भएर आम बिद्यार्थीहरुको साझा र सक्षम नेतृत्व लिन सक्ने न्यौपाने नेतृत्वको टिमलाई विजयी गराउन बिद्यार्थीहरुलाई आव्हान गरे ।
सो अवसरमा तत्कालिन स्ववियु सचिव एवं नेकपा एकीकृत समाजवादी निकट अखिलका नेता रोशन भण्डारीले विभिन्न किसिमका छात्रवृत्ती वितरण, प्राथमिक उपचार कक्ष सञ्चालन, विज्ञान प्रयोगशाला व्यवस्थित र प्रभावकारी बनाउने लगायतका महत्वपूर्ण योजनाहरुसहितको प्रतिबद्धता साथ आएको न्यौपाने नेतृत्वको टिम निर्विकल्प टिम भएको उल्लेख गरे ।
