दमक/ दमक नगरपालिकामा सञ्चालित लागुपदार्थ दुव्र्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धिको १० दिने सचेतनामुलक कार्यक्रमको समिक्षा बैठक सम्पन्न भएको छ ।
नगरपालिकाले १० वटै वडामा एक एक दिन सञ्चालन गरेको लागुपदार्थ दुव्र्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धिको सचेतना कार्यक्रमका उपलब्धी, सरोकारवालाहरुको भुमिका र आगामी दिनमा नगरपालिकाले बनाउनु पर्ने रणनीतिक योजनामा केन्द्रित हुँदै समिक्षा बैठक सम्पन्न भएको हो ।
शुक्रबार नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको सरोकारवालाहरुबीचको समिक्षा बैठकमा नगरपालिकाकी सामाजिक बिकास समिति संयोजक शारदा सापकोटाले १६ फागुन सम्म बिद्यालय, अभिभावक तथा प्रयोगकर्ताहरुका बीचमा समेत सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी भएको बताइन । लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धिको क्षेत्रमा क्रियाशील चेतना नेपाल नामक गैह्रसरकारी संस्थाका अध्यक्ष इन्द्र ओलीले कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरे ।
सो अवसरमा लागूऔषध नियन्त्रण गर्न निषेधित क्षेत्रमा सुर्ती तथा मदिराजन्य बस्तुको कारोबार रोकिनु पर्ने ओलीले औंल्याए । उनले प्रचलित कानुनले बिद्यालय, अस्पताल जस्ता संवेदनशील क्षेत्रको आसपासमा सूर्ति तथा मदिराजन्य बस्तुको कारोबार रोक्ने कानुनको कार्यन्वयन आवश्यक देखिएको बताए ।
सो अवसरमा दमक नगर प्रमुख रामकुमार थापाले नगरस्तरमानै लागूपदार्थको रोकथाम तथा नियन्त्रण सम्बन्धि इकाई गठन गरिने र वडा तथा टोलस्तर सम्म त्यसलाई अघि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेशराज तिम्सिना , इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोज लामा लगायतले पनि लागूऔषध रोकथाम तथा नियन्त्रणमा समुदायको भुमिका महत्वपूर्ण रहने चर्चा गरे ।
