सांसद डा. यादवले किन एकाएक राजीनामा दिए ?

Author Nishkarsha News
२०७६ श्रावण २८, मंगलवार १६:३०

काठमाडौं/ प्रतिनिधि सभा सदस्य डा. सूर्य नारायण यादवले पदबाट राजीनामा दिएका छन् ।

संघीय समाजवादी फोरम नेपालको तर्फबाट उम्मेद्वार भई सप्तरी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका यादवले सभामुख कृष्णबहादुर महरासमक्ष राजिनामा बुझाएका हुन् । स्वास्थ्यको कारण देखाउँदै उनले सोमवारनै राजीनामा गरेका भए पनि त्यसका पछाडीको कारणबारे विभिन्न अड्कलबाजीहरु शुरु भएका छन् । डा. यादवले पार्टीसंग समेत कुनै समन्वय नगरी राजीनामा दिएका बताइएको छ । यद्यपि, राजिनामा फिर्ता लिन आग्रह गरिएको पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताएका छन् ।

सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले सांसद यादवको राजीनामा सभामुखसमक्ष आए पनि स्वीकृत भैनसकेको बताएका छन् । संसद नियमावली अनुसार सभामुखले सांसदको राजीनामा स्वीकृत गर्न सक्ने व्यवस्था छ । उपनिर्वाचनका लागि ठाउँ ठाउँमा तयारी भईरहेका बेला डा् यादवको राजीनामालाई महत्वका साथ हेरिएको छ । समाजवादी पार्टीको पकड क्षेत्र मानिएको सो क्षेत्रमा उनको राजीनामा स्वीकृत भए उपनिर्वाचन गराउन आवश्यक हुन्छ ।

उपनिर्वाचनमा सो क्षेत्रबाट समाजवादी पार्टीले अरु कसैलाई चुनाव जिताउने योजना पनि गरेको हो कि ? भन्ने आशंका पनि गरिएको छ । तराईमधेसमा अर्धभुमीगत राजनीति गर्दै आएका डा. सीके राउत नेतृत्वको समुह समेत शान्तिपूर्ण राजनीतिमा आईसकेकाले सो क्षेत्रमा कतै राउतलाई नै योजनाबद्ध रुपमा उम्मेद्वार बनाएर चुनाव जिताउने कसैको डिजाइन त होइन ? भन्ने प्रश्न पनि उब्जिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्