दमक/  दमकका दुई सामुदायिक बिद्यालयले बिबिध कार्यक्रमसहित आफनो आफनो बार्षिकोत्सव मनाएका छन । दमक ३ स्थित ढुकुरपानी माविले ६८ औं बार्षिकोत्सव र दमक ४ स्थित बिद्योदय आधारभूत बिद्यालयले ४० औं बार्षिकोत्सव मनाएका हुन । ति दुवै समारोहको प्रदेश नम्बर एकका मुख्यमन्त्री हिक्मत कार्कीले उदघाटन गरेका छन ।


उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा सबै पक्षको भुमिका उत्तिकै महत्वपूर्ण हुने चर्चा गरे । मुख्यमन्त्री कार्कीले समुदायमा औपचारिक अनौपचारिक जुनसुकै रुपमा पनि नागरिकहरुको चेतनास्तर माथि उकास्न बिद्यालय शिक्षाले महत्वपूर्ण योगदान दिएको पनि उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले राज्यको पहुँच तल्लो तह सम्म नपुग्दा समुदायमा नागरिकस्तरबाट बिकासको महत्वपूर्ण आधार शिक्षाका लागि भएको योगदानको प्रशंसा गर्दै प्रदेश सरकार सबै नागरिकहरुलाई गुणस्तरीय , सर्वसुलभ शिक्षाका लागि प्रतिबद्ध रहेको पनि बताए ।


ढुकुरपानी माविमा आयोजित समारोहमा बिद्यालयका पूर्व प्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सदस्यहरु लगायत बिद्यालयको बिकासमा महत्वपूर्ण योगदान गर्ने करिब ५० जनालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सामुदायिक बिद्यालयहरुको गुणस्तरमा प्रतिस्पर्धाको खाँचो औंंल्याउँदै नगरपालिकाबाट बिद्यालयलाई प्रदान गरिने बार्षिक अनुदान पाउनका लागि विभिन्न मापदण्डहरु तोकेर गुणस्तरमा प्रतिस्पर्धाको अभ्यास शुरु गरिएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्यद्धय होम बहादुर थापा, नम्बरलाल धिमाल, दमक नगर उपप्रमुख रेगिना भट्टराई, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख राजकुमार विक, दमक ३ का वडाध्यक्ष नविन बराल लगायतको आतिथ्य रहेको थियो । सोही अवसरमा मुख्यमन्त्री कार्कीले बिद्यालय परिसरमा निर्माण गरिने सरस्वतीको मन्दिर समेत शिलान्यास गरे ।

त्यसैगरी दमक ४ स्थित बिद्योदय आधारभूत बिद्यालयमा अक्षयकोष समेत स्थापना गरेर शैक्षिक उन्नयनमा योगदान पुरयाउने बिद्यालयका पूर्व प्रधानाध्यापक कर्णबहादुर लामा र रुद्र कुँवरलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको थियो । उनीहरुलाई मुख्यमन्त्री कार्कीले सम्मान गरे । सो कार्यक्रममा समेत प्रदेश सभा सदस्यद्धय होमबहादुर थापा र नम्बरलाल धिमाल, दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई लगायतको विशेष आतिथ्य रहेको थियो । बिद्योदयमा आयोजित कार्यक्रमको संयोजक केन्द्रबहादुर प्रसाइँ रहेका थिए भने कार्यक्रमको अध्यक्षता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत खडकाले गरेका थिए ।

Facebook Comments Box