दमक/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखामा कार्यरत झापाको बाह्रदशी ६ रुप्चनवाडी स्थायी ठेगाना भएका एक जना कर्मचारी घुस रकम र ब्राण्डेड रक्सीसहित पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सो शाखाका प्रमुख समेत रहेका प्रवन्धक पूर्ण प्रसाद चुँडाललाई रंगेहात पक्राउ गरेको छ । आयोगका अनुसार चुँडालले एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवतजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग एक लाख ५० हजार घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली विमानस्थल पुगेको थियो ।
उनले ०७८ कात्तिकदेखि प्रतिमहिना १० हजारका दरले १५ महिनाको एकमुष्ट डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो ।
कार्यकक्षभित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ रकम र पाँच बोतल ब्ल्याक लेबल, एक बोतल डबल ब्ल्याक लेबल, चिभास रिगल, ग्लेनफिडिक, गोर्खाज एन्ड गन्स गरी नौ बोतल मदिरा बरामद गरेको छ । त्यस्तै, चार थान मोबाइल पनि बरामद भएको छ ।