दमक/ ४ मसिंरमा सम्पन्न निर्वाचनपछि प्रदेश १ सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको नेतृत्वमा आज आइतबार नयाँ सरकार गठन हुँदैछ । सरकारको नेतृत्व नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गर्ने पक्का पक्की भएको छ । एमालेले कार्कीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको जनाइएको छ ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा एमाले नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्ने बताए । सरकार गठनका लागि ४७ प्रदेश सांसद आवश्यक छ तर ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेस गर्ने भण्डारीले बताए ।
प्रदेश प्रमुख खापुङले प्रदेश सरकार गठनका लागि गत आइतबार ८ दिनको समय दिएर आह्वान गरेका थिए ।
प्रदेश प्रमुख कार्यालयले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिसकेको छ । सोही बमोजिम आज कार्की मुख्यमन्त्री बन्ने भएका हुन । सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको दाबी गर्दै आएको नेकपा माओवादी केन्द्र भने शीर्ष नेताहरु बीच हिजो काठमाडौंमा भएको छलफलमा पछि हटेको बताइएको छ । माओवादी केन्द्रले प्रदेश एकमा एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आधा आधा कार्यकाल बाँडने सहमति भइसकेको बताए पनि सो बारे औपचारिक जानकारी बाहिर आएको छैन ।