दमक/ इलाम चुलाचुली २ स्थित जनता माविका बिद्यार्थीहरुको सहजताका लागि गाउँपालिकाले एउटा स्कूल बस उपलब्ध गराएको छ ।
पालिकाले करीब ४२ लाख रुपैयाँ मूल्य बराबरको बिद्यार्थी बोक्ने बस उपलब्ध गराएको हो ।
बिद्यालयमा सोमबार आज आयोजित औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले स्कूल बसको चाबी हस्तान्तरण गर्दै उपलब्ध सेवा सुविधाको अधिकतम उपयोग गर्न गाउँपालिकाबासीलाई आग्रह गर्नु भयो ।

अध्यक्ष केरुङले सामुदायिक बिद्यालयको भौतिक पूर्वाधारहरुको बिकाससंगै शैक्षिक गुणस्तरलाई माथि उकास्न सबै खाले उपायहरु अवलम्बन गर्न शिक्षक, कर्मचारी र समुदायलाई आव्हान गर्नुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिपिन योङयाको सभापतित्वमा भएको स्कूल बस हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी लावती, शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्र, गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिपचन्द्र राई लगायत वडाध्यक्षहरुको आतिथ्य रहेको थियो ।

सो अवसरमा बिद्यार्थीहरुले मौलिकता र राष्ट्रप्रेम झल्किने गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए भने बिद्यालयका शिक्षिका तथा बिद्यार्थीहरुको समुहले मौलिक गीत मार्फत स्वागत गरेका थिए ।
२ हजार २० को दशकमा सो ठाउँमा मानिसहरुको बसोबास शुरु भएसंगै स्थापना गरिएको जनता माविमा अहिले करिब ७ सय भन्दा बढी बिद्यार्थी अध्ययनरत रहेका जनाइएको छ । इलामको दुर्गम क्षेत्रका रुपमा चिनिएको चुलाचुली भित्रको सुगम क्षेत्रका रुपमा रहेको बाह्रगोठेमा अवस्थित जनता माविमा अहिले सिटीइभिटीले प्राविधिक बिषयको समेत अध्यापन गराउँदै आएको छ । नर्सरीदेखि कक्षा १२ सम्मको अध्ययन अध्यापन गराउँदै आएको बिद्यालयको भौतिक पूर्वाधारको बिकास समेत सन्तोषजनक रुपमा अघि बढेको छ । गाउँपालिका अध्यक्ष केरुङले यो बिद्यालयलाई संघीय सरकारले समेत नमुना बिद्यालयका रुपमा बिकास गर्ने योजना अनुसार भौतिक पूर्वाधार बिकासको काम भइरहेपनि बिद्यार्थीहरुको आवतजावतमा समस्या भएकाले सहजताका लागि गाउँपालिकाले बस उपलब्ध गराएको बताए ।
बिद्युतीय टेण्डर मार्फत घटाघट मूल्यमा काठमाडौंबाट सो बस खरिद गरिएको बिद्यालयले जनाएको छ ।
