दमक/ बेलायतमा रहेको मगर महिला कम्युनिटीको वेम्बली शाखाले दमक र कमलका दुई जना विपन्न तथा जेहेन्दार मगर छात्रालाई छात्रवृत्ती वापत शैक्षिक सहयोग गरेको छ ।
शाखाले दमक ९ इटाभट्टास्थित सरस्वती माविमा अध्ययनरत रिता आलेमगर र कमल १ सरङपाडास्थित नरेन्द्र माविमा अध्ययनरत भिमा थापामगरलाई उच्च शिक्षा अध्ययनमा सहयोगका लागि जनही २५ हजार रुपैयाँ बराबरको शैक्षिक सहयोग प्रदान गरेको हो ।

सामाजिक सञ्जाल मार्फत परोपकारमा संलग्न दमकका काजी राउत मार्फत सो कम्युनिटीको वेम्बली शाखाले सो रकम पठाएको हो । प्राप्त सहयोग रकम दाता संस्थाको आग्रह अनुरुप एक बर्षको बार्षिक शुल्क , बिद्यालय पोशाक र शैक्षिक सामग्री ति दुवै बिद्यालयमा पुगेर हस्तान्तरण गरिएको छ ।
सामाजिक सञ्जालमार्फत राउतले सो शाखामा ति छात्राहरुको शैक्षिक निरन्तरताका लागि सहयोग आवश्यक रहेको जानकारी गराएपछि संस्थागत रुपमा सो सहयोग रकम पठाइएको मगर महिला कम्युनिटीको वेम्बली शाखाकी मन सुनुवारले जानकारी दिएकी छिन ।
ति छात्राहरुले आगामी दिनमा अध्ययनलाई अनुशासनपूर्वक अघि बढाएको खण्डमा आगामी बर्ष पनि सो सहयोगलाई निरन्तरता दिइने दाता संस्थाले जनाएको छ ।
सो सहयोग हस्तान्तरणका लागि नरेन्द्र जनता मावि पुगेका सामाजिक अभियान्ता राउतलाई बिद्यालयका प्रधानाध्यापक बद्री कार्कीसहित शिक्षक, बिद्यार्थीहरुले स्वागत गर्दै सहयोग प्राप्त गर्न भुमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । सो अवसरमा राउतले सामुदायिक बिद्यालयको गुणस्तरका लागि बिद्यार्थीहरुमा शैक्षिक वातावरणको सिर्जना गर्न घरदेखि बिद्यालयसम्म ध्यान दिइनुपर्ने औंल्याए ।
